राष्ट्रिय समाचार स्वास्थ्य

सुदूरपश्चिममा २४ घन्टामा २४ जनाको कोरोना परीक्षण

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुस्त गतिमा भइरहेको छ। पछिल्लो २४ घन्टामा सुदूरपश्चिमका २४ जनाको मात्रै पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

धनगढीमा स्थापना गरिएको आरटीपिसिआर मेसिनमार्फत पछिल्लो २४ घन्टामा २४ जनाको मात्रै कोरोना परीक्षण गरिएको हो। चार घण्टामा ९६ जनाको परीक्षण गर्न सक्ने क्षमतासहितको मेसिन भए पनि नमुना नै नहुँदा निकै कम संख्यामा परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ।

पछिल्लो २४ घन्टामा १५७ जनाको र्‍यापिड टेष्ट पनि गरिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। निर्देशनालयका अनुसार नौ जिल्लाका १५७ जनाको र्‍यापिड टेस्ट गरिएको हो।

२४ जनाको पिसिआर र १५७ जनाको र्‍यापिड टेस्ट गर्दा कसैमा पनि संक्रमण र एन्टिबडी पोजेटिभ नदेखिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार मंगलबार थप परीक्षणका लागि १७ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ भने अझै ५३ जनाको रिपोर्ट आउन बाँकी छ।

अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा दुई हजार ९१९ जनाको पिसिआरबाट कोरोना परीक्षण भएको छ भने १४ हजार ४०१ जनाको र्‍यापिड टेस्ट गरिएको छ। पिसिआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये चार जना निको भएर घर गएका छन् भने एकजना उपचाररत छन्। आरडिटी गरिएकामध्ये १० जनामा पोजेटिभ देखिए पनि उनीहरूको पिसिआर नेगेटिभ देखिएको जनाइएको छ।

सुदूरपश्चिममा अहिलेसम्म चारजना संक्रमितसहित कोरोना भाइरस संक्रमणको शंकामा आइसोलेशनमा राखिएका ११९ जनालाई डिस्चार्ज गरिएको छ।

नौ जिल्ला रहेको प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा स्थापना गरिएका आइसोलेसनबाट अहिलेसम्म ११९ जनालाई डिस्चार्ज गरिएको हो।

तीन हजार चार सय ४० जना क्वारेन्टाइनमा

हाल प्रदेशभरिका क्वारेन्टाइनमा तीन हजार ४४० जना राखिएको जनाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ।

तीन हजार १७५ पुरुष र २६६ जना महिलालाई क्वारेन्टाइनमा राखिएको हो। प्रदेशभरी स्थानीय र प्रदेश सरकार तथा नेपाली सेनाले नौ हजार २९ जना अटाउने ३८० वटा क्वारेन्टाइन स्थापना गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ