राष्ट्रिय शान्ति समाचार

सीमा क्षेत्रमा सशस्त्रको निगरानी, चौकीकाे सङ्ख्या ५ सय पुर्‍याइने

देशको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (बीओपी) को सङ्ख्या ५ सय पुर्‍याइने भएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम रहेका बेला गृह मन्त्रालयले सीमा नाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बीओपी थप्ने तयारी गरेको हो ।

अहिले सीमा क्षेत्रमा सशस्त्रको एक सय २१ स्थायी बीओपी छ । गृह मन्त्री रामबहादुर थापाको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले यससम्बन्धी खाका तयार पारेको हो । सोमबार सशस्त्र प्रहरीले यस खाका गृह मन्त्री थापासमक्ष प्रस्तुतसमेत गरेको थियो । सीमा क्षेत्रमा भारतको पाँच सय ३० बीओपी छ । त्यही अनुपातमा बीओपी थप्न लागिएको हो । प्रस्तावअनुसार यति सङ्ख्यामा जनशक्ति खटाउन नौ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ ।

अहिले सरदर १५ किलोमिटरको दुरीमा रहेको बीओपी थपिएपछि ३ दशमलव ५ किलोमिटरमा रहनेछ । अहिले सीमावर्ती जिल्लामा धेरै अस्थायी चौकी राखिएको छ । गृह मन्त्रालयमा सोमबार भएको छलफलमा गृह मन्त्री थापाले सीमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बीओेपी थपसम्बन्धी प्रस्ताव आफूले मन्त्रिपरिषदमा लैजाने बताउनुभयो । उहाँले सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको भन्दै बीओेपी रहने स्थान, आवश्यक पूर्वाधारलगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिनुभयो ।

शान्त, समृद्ध र स्वाधीन नेपालका लागि सीमा व्यवस्थापन अनिवार्य शर्त रहेको बताउँदै गृह मन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । तत्कालै वा चरणबद्ध रुपमा पाँच सय स्थानमै बीओेपी स्थापना प्रक्रिया अगाडि बढाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अहिले जटिल परिस्थितिमा सीमित स्रोत साधनका बाबजुद सीमामा कोरोना नियन्त्रणका लागि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसा गर्नुभयो ।

छलफलमा गृहसचिव महेश्वर न्यौपानेले सीमाको विषय संवेदनशील विषय भएकाले सीमाबाट हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागि पनि बीओेपी बढाउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्सारको एक सय ११ ठाउँमा रहेको जग्गा बीओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो ।

यसअघि सीमा क्षेत्रमा ८७ बीओपी रहेकाेमा गृह मन्त्री थापाले मन्त्रालय सम्हालेपछि एक सय २० पुर्‍याइएको थियो । यसअघि बीओपी सङ्ख्या दुई सय २१ पुर्‍याउने गृह मन्त्रीको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । यसअघि बीओपीमा पाँच हजार जनशक्ति रहेकामा कोरोनाको सङ्क्रमणका कारण आठ हजार तीन सय ८३ थप जनशक्ति सीमामा थपिएको हो ।

गृह मन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टरलगायतका स्थानमा रहेका जनशक्ति घटाएर सीमामा पठाउन निर्देशन दिएसँगै सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपस्थिति बाक्लो छ । कोरोनाको सङ्क्रमणका कारण सीमा क्षेत्रमा अहिले अस्थायीसहित एक हजार दुई सय १३ सीमा निगरानी चौकी छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ