अन्तराष्ट्रिय समाचार स्वास्थ्य

सीमा क्षेत्रमा थप कडाइ गर्न आवश्यक प्रक्रिया अघि बढ्याे : गृह मन्त्रालय

सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि सीमा क्षेत्रमा थप सुरक्षा सर्तकता अपनाउन लागेको गृह मन्त्रालयले जनाएको छ ।

सीमाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि त्यसरी प्रवेश गर्नेलाई निगरानी गर्न सुरक्षा बल बढाउनेसमेत तयारी गरिएकाे छ । सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि बसेको सुरक्षा समिति बैठकको निर्णय अनुसार महत्वपूर्ण क्षेत्रमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने र त्यहाँ रहेका सशस्त्र र नेपाल प्रहरीलाई भने सीमा सुरक्षामा खटाउने गृहकार्य भइरहेको हो । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्री रामबहादुर थापाले कोरोना सङ्क्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेकाले खुला सीमाना रहेको कारण नेपालले विशेष सावधानीमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्री थापाले सीमा सुरक्षाका विषयमा भारत सरकारसँग पनि आवश्यक छलफल गर्ने बताउनुभएको छ । यसअघि मन्त्रालयले सीमावर्ती जिल्लामा १४ हजार सुरक्षाकर्मीलाई बढाएर २२ हजार पाँच सय पुर्‍याएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ