खेलकुद समाचार

सागमा पदक दिलाउने ६९ प्रशिक्षकले पुरस्कार पाउँदै, ४१ जनाको रकम रोकियो

सागमा करातेबाट पदक जितेका खेलाडी, प्रशिक्षक र अफिसियलहरू।सागमा करातेबाट पदक जितेका खेलाडी, प्रशिक्षक र अफिसियलहरू।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक दिलाउने प्रशिक्षक मध्ये ६९ जनाले घोषित पुरस्कार केहि दिनमै पाउने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रिय टिम तयारी शाखाले सागमा पदक दिलाउने १ सय ११ मध्ये पेश्की फर्छौट ६९ जना प्रशिक्षकलाई पुरस्कार दिनका लागि युवा तथा खेलकुद मन्त्रालयमा नाम पठाएको छ।

सागमा स्वर्ण दिलाउने प्रशिक्षकलाई ५ लाख, रजत दिलाउनेलाई ३ लाख र कास्य दिलाउनेलाई २ लाख पुरस्कार दिने उल्लेख छ। यसैगरी स्वर्ण दिलाउने सहायक प्रशिक्षकलाई ३ लाख, रजतलाई २ लाख र कास्यलाई १ लाख पुरस्कार दिने कार्यविधिमा लेखिएको छ।

सागमा पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई भने बैंक खातामार्फत पुरस्कार रकम गत वैशाख ३ गते पठाएको थियो।

मंसिर तेस्रो साता सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो। साग लगत्तै विजेता खेलाडी तथा प्रशिक्षकलाई प्रधानमन्त्री केपी ओलीले सार्वजनिक कार्यक्रम गरेर पुरस्कार दिने घोषणा गरेका थिए।

‘हामीले पेश्की फर्छौट गरेका प्रशिक्षकहरुको नाम र बैंक खाता युवा तथा खेलकुद मन्त्रालयलाई पठाइसकेका छौं,’ राष्ट्रिय टिम तयारी शाखा प्रमुख महेन्द्रकुमार राईले सेतोपाटीसँग भने,’चाडोमा आइतबारसम्ममा उनीहरुको खातामा पुरस्कार रकम पुग्छ।’

राईका अनुसार पेश्की रहेका प्रशिक्षकलाई पुरस्कार रकम दिन कठिनाइ भएको छ। ’cause खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिमा पुरस्कार पाउनेले बेरुजु वा अन्य बाँकी रकम रहेको-नरहेको भन्ने स्व:घोषणा गर्ने बाध्यात्मक व्यवस्था छ।

‘हामीले पुरस्कार घोषणा भएदेखि नै सबैलाई पेश्की फर्छौट गर्न भनेका थियौं। तर लामो समयसम्म पनि फर्छौट भएको छैन,’ राईले भने,’प्रशिक्षकहरूलाई अहिलेको पेश्की फर्छौट गर्न भनिएको होइन। कसैको आठौं राष्ट्रिय खेलकुदको पेश्की छ भने कसैको विदेश गएको पेश्की बाँकी छ,’ राईको भनाइ छ।

राष्ट्रिय खेलकुद परिषदमा १ अर्ब रुपैयाँ भन्दा बढी बेरुजु छ। त्यसैले अर्थ मन्त्रालयले परिषद्लाई रकम दिनुअघि पेश्की रकम फर्छौट गर्न दबाब दिँदै आएको छ। त्यसैले खेलकुद मन्त्रालयले प्रशिक्षकको बेरुजुमा कडाइ गरेको हो।

कतिपय प्रशिक्षकले प्राविधिक त्रुटि गरेकाले पनि पुरस्कार पठाउन समस्या भइरहेको उनले बताए।

पेश्की फर्छौट नभइ घोषित पुरस्कार रकम नदिएपछि कतिपय प्रशिक्षक असन्तुष्ट छन्।

यसअघि कराते प्रशिक्षक दिपक श्रेष्ठले खेलाडीलाई सफलता दिलाउन भूमीका खेलेका प्रशिक्षकलाई अहिलेसम्म पुरस्कार नदिएर अपमान गरेको बताएका थिए। प्रशिक्षकले बाध्यताले पेश्की लिएको हुनाले पुरस्कार रकम रोक्नु उचित नहुने उनको भनाइ छ।

सागका पदक विजेता खेलाडी, प्रशिक्षक र संघले कति-कति पुरस्कार पाउँछन्?

 अहिले पाउने पुरस्कार पहिलाको  पुरस्कार 
व्यक्तिगत स्वर्ण ९ लाख रुपैयाँ  ५ लाख रुपैयाँ
व्यक्तिगत रजत  ६ लाख रुपैयाँ ३ लाख रुपैयाँ
व्यक्तिगत कास्य ३ लाख रुपैयाँ २ लाख रुपैयाँ
२ भन्दा बढी व्यक्तिगत स्वर्ण प्रत्येक स्वर्णको ११ लाख रुपैयाँ व्यवस्था नभएको
टिम स्वर्ण – जनही ६ लाख रुपैयाँ २ लाख रुपैयाँ
टिम रजत – जनही ४ लाख रुपैयाँ १ लाख ७५ हजार रुपैयाँ
टिम कास्य – जनही ३ लाख रुपैयाँ १ लाख रुपैयाँ
स्वर्ण दिलाउने प्रशिक्षक ५ लाख रुपैयाँ ३ लाख रुपैयाँ
रजत दिलाउने प्रशिक्षक  ३ लाख रुपैयाँ २ लाख रुपैयाँ
कास्य दिलाउने प्रशिक्षक २ लाख रुपैयाँ १ लाख रुपैयाँ
स्वर्ण दिलाउने सहायक प्रशिक्षक  ३ लाख रुपैयाँ १ लाख  ७५ हजार रुपैयाँ
रजत दिलाउने सहायक प्रशिक्षक २ लाख रुपैंयाँ १ लाख रुपैयाँ
कास्य दिलाउने सहायक प्रशिक्षक १ लाख रुपैयाँ  ५० हजार रुपैयाँ
स्वर्ण दिलाउने सम्बन्धित संघ ५ लाख रुपैयाँ ५ लाख रुपैयाँ
रजत दिलाउने सम्बन्धित संघ ३ लाख रुपैयाँ  ३ लाख रुपैयाँ
कास्य दिलाउने सम्बन्धित संघ  २ लाख रुपैयाँ  २ लाख रुपैयाँ

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ