राष्ट्रिय समाचार हिंसा

लागूऔषधसहित पाँच पक्राउ

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा लागूऔषधसहित आज ५ जना पक्राउ परेका छन् ।

प्रहरीले एकैघरका तीनसहित पाँचलाई जिल्लाको रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, परासीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार, गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रामग्राम–१० को एक घरमा लुकाइराखिएका अवस्थामा ७ सय ग्राम गाँजा बरामद गरेको छ । गाँजा लुकाइछिपाइ राखेको अभियोगमा एकै घरका तीनसहित चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ४५ वर्षीया मीना कुर्मी, उनका छोरा २२ वर्षीय नरेश र २४ वर्षीय मुकेश तथा रामग्राम–६ का ४५ वर्षीय प्रेम अग्रहरी छन् । यसैगरी रामग्राम–१२ पचगाँवाबाट लागुऔषधसहित चितवनको भरतपुर महानगरपालिका–१० का ३४ वर्षीय भगवाल घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा घलेले बोकेको झोलाबाट नुफिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनरागन १५० एम्पुल बरामद गरेको हो ।

अभियुक्त सबैलाई लागूऔषध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ