अन्तराष्ट्रिय समाचार स्वास्थ्य

रुसः कोरोनाभाइरस वृद्धिमा रेकर्ड, बन्यो कोरोनाको नयाँ हटस्पट

पछिल्लो समय निकै कडा रुपमा लकडाउन अपनाइरहेको रुस पनि अब कोरोनाभाइरसको नयाँ हटस्पट हुँदै छ । रुसमा कोरोनाभाइरसका एकै दिन १० हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । यो महामारीको सुरुवातपछि एकै दिन रुसमा यति धेरै कोरोनाभाइरस संक्रमित भेटिएको यो पहिलो पटक हो ।

रुसको मस्कोमा सबैभन्दा ठूलो उछाल देखिएको छ । मस्कोमा अस्थायी अस्पताल २४ सै घन्टा खुला रुपमा राखिएको छ । त्यहाँ एकै दिनमा सयौँको संख्यामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

संक्रमणको वृद्धि द्रुत गतिमा भए पनि तुलनात्मक रुपमा कोरोनाभाइरसका कारण त्यहाँ कम मानिसहरुको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म १२८० जनाको कोभिड १९ का कारण मृत्यु भएको छ ।

रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनले बिहिबार आफू पनि कोरोनाभाइरस संक्रमित भएको जानकारी दिएका छन् । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

अब रुस सरकारले कोरोनाभाइरसको परीक्षण बढाउने भएको छ ।

मस्कोमा मात्र प्रत्येक दिन ४० हजारभन्दा धेरैको परीक्षण सुरु गरिएको छ । मस्कोमा अहिलेसम्म भेटिएका कोरोनाभाइरसमध्ये आधाभन्दा बढीमा कुनै लक्षण नदेखिएको त्यहाँका अधिकारीले जनाएका छन् ।

जोन हप्किङ्सको नयाँ तथ्यांकअनुसार रुसमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ३४ हजार ६ सय ८७ पुगिसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ