आर्थिक समाचार

‘यही हो मौका, अवैध निजी सम्पत्तिलाई वैध बनाऔं’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नेकपा नेता विजय पौडेलले अवैध निजी सम्पत्तिलाई बैध बनाइदिन सरकारलाई सुझाव दिएका छन् ।

कोरोना भाइरसका कारण वैदेशिक ऋण र सहायता घट्ने तथा आन्तरिक रुपमा राजश्वमा समेत ठूलो गिरावट आउने भएकाले त्यसको सामना गर्नका निम्ति एक पटकलाई ‘हेभी ट्याक्स’ लगाएर अवैध निजी सम्पत्तिलाई वैध बनाउन दिनुपर्ने उनीहरुको भनाइ छ ।

आगामी बजेटका सन्दर्भमा छलफल गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले गरेको छलफलमा उनीहरुले यस्तो बताएका छन् ।

‘एकचोटी सम्पूर्ण नेपालीहरुको सम्पत्तिलाई अभिलखीकरण गरौं । कानुनी अस्पष्टताका कतिपय निजी सम्पत्ति अवैध भएर रहेका हुन सक्छन् । त्यसलाई बाहिर ल्याउँ र लगानी गरौं’ उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।

सम्पत्ति शुद्धिकरणको डरले त्यस्ता अवैध निजी सम्पत्ति खर्च गर्न डराउनुपर्ने अवस्था रहेका कारण सरकारले आँट गरेर एक पटकका लागि अवैध निजी सम्पत्तिलाई वैध बनाउनुपर्ने उनको सुझाव छ ।

कतिपयले अन्तर्राष्टिंय निकायले अवैध निजी सम्पत्तिलाई वैध बनाउँदा प्रश्न उठाउन सक्ने औंल्याएका छन् । तर, अहिले विशिष्ट परिस्थिति भएकाले त्यस्तो प्रश्न नउठ्ने नेकपा नेता विजय पौडेल बताउँछन् ।

‘अहिले अवैध निजी सम्पत्तिलाई विदेश लगेर वैध बनाएर नेपाल ल्याउने प्रवृत्ति छ । एकातिर देशलाई लुट्ने अर्कोतिर विदेश गएर फेरि यतै फर्किने !’ पौडेल भन्छन्’ यही हो मौका एकचोटी हेभी ट्याक्स लगाएर अण्डरग्राउण्ड मनीलाई माथि ल्याऔं ।’

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ