राजनीती समाचार स्वास्थ्य

मेयर शाक्यले गरे ५०औँ पटक रक्तदान, लकडाउनले रगत पाउनै मुस्किल

लकडाउनमा रगतको अभाव रहेको बेला काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ५०औँ पटक रक्तदान गरेका छन्।

यस अघि ४९ पटक रक्तदान गरेका मेयर शाक्यले २५६४ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरपालिकाको वडा-२१ मा अवस्थित गणेश युवाले बिहीबार आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा ५० औँ पटक रक्तदान गरेका हुन्। ‘अरुलाई बचाउन गरिने रक्तदान अमूल्यदान हो अर्थात दान मध्येको पनि उत्कृष्ट दान रक्तदान हो । त्यसैले मैले नियमित रुपमा रक्तदान गर्दै आएको छु। यो त्यसैको निरन्तरता हो,’उनले भने।

उनले सरकारले कोरोना भाइरसको रोकथामका लागि चैत ११ देखि लागू गरेको लकडाउन अहिले पनि जारी रहेको भन्दै लकडाउनका बेला रक्तस्राव, प्रसूति, दुर्घटना, शल्यक्रियालगायत विरामीलाई रगत अभाव हुन नदिन रक्तदान गरेको बताए।

केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा मनिता राजकर्णिकारले लकडाउनका बेला रगतको अभाव हुन नदिन सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर रगत संकलनको गर्ने गरेको जानकारी दिइन्।

गणेश युवा क्लवका सचिव अनन्त शाक्यले पनि सकेसम्म सबै मापदण्ड पूरा गरेर रक्तदान कार्यक्रम गरेको जानकारी दिए। उनका अनुसार ८० जनाले रक्तदान गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ