आर्थिक समाचार स्वास्थ्य

मजदुर र मृगौला पीडितलाई घरघरमै राहत

चैत ११ गतेखि जारी लकडाउनका कारण सबैभन्दा समस्यामा मजदुर र बिरामी परेका छन्। काम बन्द भएर मजदुर भोकभोकै छन् भने बिरामीले उपचारसमेत पाउन सकिरहेका छैनन्।

मजदुरहरु त सरकारले बाँडेका राहत लिन पुगेका छन् तर मिर्गौला रोगीसहितका बिरामीहरुका लागि त्यो राहत पनि एकादेशको कथा जस्तै भइरहेको छ।

मिर्गौला रोगीहरुलाई अस्पतालमा पुगेर डायलाइसिस गर्नै पनि गाह्रो भएको छ। यसबीचमा राजधानी उपत्यकामा राहतका लागि गैरसरकारी क्षेत्र, विद्यार्थी नेता र सामाजिक अभियन्ता पनि सक्रिय छन्। अहिले सत्तारुढ नेकपासम्वद्ध विद्यार्थी संगठनका नेताहरु पनि राहतका लागि सक्रिय छन्।

अनेरास्ववियु (अखिल)का केन्द्रीय सचिव सुदेश पराजुलीले मजदुर र मृगौलापीडितको घरघरमै पुगेर राहत वितरण गर्दै आएका छन्। विद्यार्थी नेता पराजुलीले लकडाउनले समस्यामा परेका मजदुर र मृगौलापीडितको घरमै राहत पुर्‍याइरहेका छन्।

पराजुलीले लकडाउनमा कोही पनि मजदुर, मृगौला पीडित र विद्यार्थी भोकभोकै नहुन् भनेर राहत वितरण गर्दै आएको बताए। ‘सरकारले कोरोना रोकथामका लागि लकडाउन लगाएको छ,’ उनले भने,‘लकडाउन लम्बिँदै गएपछि विपन्‍न वर्गका व्यक्तिलाई समस्या भएको छ।

त्यसैले उनीहरुलाई घरमै राहत पुर्‍याउँदै आएको छु।’ उनका अनुसार ९ दिनदेखि निरन्तर ३० केजी चामल, दुई केजी दाल, नुन र तेल बाँड्ने गरिएको छ। ललितपुर, कीर्तिपुर, बालाजु, सोह्रखुट्टे, इमाडोल, मैतीदेवी, मूलपानी लगायत ठाउँमा उनले राहत बाँडेका छन्।

राहत बाँड्ने अभियानमा अनेरास्ववियूका केन्द्रीय सदस्य महेश श्रेष्ठ, पूर्व नेता आशीष ढुंगाना लगायत विद्यार्थी जुटेका छन्। लकडाउनभर राहत वितरण गर्ने योजना उनीहरुले बनाएका छन्। ‘अझै राहत बाँड्ने अभियान सकिएको छैन। अब जुन ठाउँमा अप्ठ्यारो छ।

बुझेर राहत टिममार्फत विद्यार्थीको घरघरमा राहत पुर्‍याउने छौँ,’ विद्यार्थी नेता पराजुलीले भने। उनीहरुले अहिलेसम्म चार सयभन्दा बढीलाई राहत वितरण गरिसकेका छन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ