राष्ट्रिय समाचार

‘भोकै मरिएला कि भनेर सडकमा मजदुरी गर्न आयौँ’

लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने सडक झन्डै एक महिनादेखि सुनसान छन्। तर लकडाउनकैबीच सडक मर्मत र स्तरोन्‍नति भने रोकिएको छैन। सवारी साधन सडकमा नहुँदा सडक निर्माणको कामले तीव्रता पाइरहेको छ। लकडाउनको कारण सडकमा सवारी साधन न्यून छन्।

यही मौकामा सडक निर्माणको काम धमाधम भइरहेको छ। थानकोट-नौबीसे सडकखण्डमा लकडाउनको सदुपयोग गरेर मजदुरहरु १५ किलोमिटर सडक निर्माणको धमाधम गरिरहेका छन्। मकवानपुरका २४ वर्षीय अर्जुनकुमार मोक्तान १५ दिन देखि नागढुङ्गा सडकको पर्खाल निर्माणमा जुटिरहेका छन्।

यस कामबाट उनले दैनिक १ हजार देखि १५ सयसम्म ज्याला पाउँछन्। उनी काठमाडौंबाट बिहान ६ बजे नागढुङ्गा पुगिसक्छन्। अनि दिनभर काममा लागिरहन्छन्। कोरोना संक्रमणको त्राससँगै काठमाडौंमा ज्यान कसरी पाल्ने भन्‍ने चिन्तामा छन् मोक्तान । ‘घर जाऊँ गाडी चल्दैन।

काम नगरी बसुम् दिन कटाउन गाह्रो छ। त्यसैले सडकको पर्खाल निर्माणमा जुटिरहेको छु,’ उनले सुनाए,‘यस्तो संकटको समयमा सरकारले घर जान दिएन। पैसा नभएपछि घरमा गएर के खाने? समस्या छ। लकडाउन भए पनि सडकमा मजदुरी गर्न पाइएको छ।’

लकडाउनमा काम गर्ने र बाहिर निस्कने अनुमति नभए पनि भोको पेट भर्न काम गर्नुपर्ने उनी बताउँछन्। ‘काम नगरे खान पाइँदैन, बाच्‍न पनि सडकमा निस्केर काम गरिरहेको छु,’ उनले भने,’कोठा भाडा ६ हजार तिर्नुपर्छ। काम नगरे पैसा आउँदैन।

घरधनीलाई तिर्न भए पनि लकडाउनमृ काम गर्नुपरिरहेको छ।’ नौबीसेका १६ वर्षीय इशाक मगर पनि यतिखेर सडकमा मजदुरी गरिरहेका छन्। घरमा बाबा र आमा मात्र भएकोले दिनभर यहाँ काम गरेको पैसाले चामल किनेर छाक टार्ने गरेको उनी सुनाउँछन्।

‘लकडाउन भनेर बस्दा खान समस्या हुने भएकोले पनि काम गर्न आएको हुँ,’ उनले भने,’ दिनको एक हजार कमाइले परिवार र मेरो दैनिक खर्च टर्छ।’ सुरुमा काम नगरी बसेको बताउँदै उनले यहाँ सडकको काम भएपछि आएको उनले सुनाए। वडाले राहतस्वरुप १० किलो चामल दिएको थियो।

राहतको चामल पनि सकेर साथीहरुले कामदारको खाँचो भएको सुनाएपछि काम गर्न आएको उनले बताए। दुईचार दिनलाई खानेकुराको जोहो गरेको बताउने उनी अझै लकडाउन लम्बिएला कि भन्‍ने चिन्तामा छन्। उनले चामल र एउटा ग्यास किनेर राखेको थिए।

तर, लामो समयसम्म बन्द भयो भने भोकै भइएला कि भनेर सडकमा मजदुरी गर्ने आएका छन्। उनले भने, ‘घरभित्र पनि कति बस्नु, मन पनि मानेन । त्यहीमाथि कोरोनाको त्रासले खानभन्दा पनि भोकले मर्ने भइयो।’ दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्दै आएका नौबिसेका बस्ने भुवन मगर यतिबेला मजदुरी नै गरिरहेका छन।

उनको परिवारलाई रोगको भन्दा भोगको चिन्ता छ। उनको परिवारमा पाँच जना छन्। ‘खानेकुरा केही छैन।कसरी गुजारा चलाउने,’उनले भने,’दिनहुँ काम गरेर भएपनि छाक टार्ने गरेको छु। घरमा बसुम पैसा हुदैन। धन्न लकडाउनको बेलामा सडक निर्माणको काम पाएको छु।

सडकको काम मेरा लागि बाँच्ने सहारा बनेको छ।’ लकडाउनले अन्य काम गर्न नपाएकोले यहीँ काम चलेकोले गर्दा परिवारको गुजारा चलाउन सकेको उनले बताए। भुवन लकडाउन हुनुभन्दा अगाडि काठमाडौंमा मजदुरी गर्थे।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ