अन्तराष्ट्रिय राजनीती समाचार

बाइडन विरूद्ध ट्रम्पको १० मिलियन डलरको विज्ञापन अभियान, दुबैले १.७ बिलियन खर्च गर्ने

नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावको प्रचारका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प अभियानले बिहीबार प्रतिष्पर्धी डेमोक्रेटिक उम्मेदवार जोन बाइडविरिद्ध १० मिलियन अमेरिकी डलरको प्रचार अभियान सुरू गरेको छ।

कोरोना भाइरस सुरू भएयता बाइडनविरूद्ध ट्रम्प अभियानको यो सबैभन्दा ठूलो विज्ञापन हमला हो।

बाइडनको अभियानले ट्रम्पको विरूद्ध नोभेम्बरमा हुने चुनाव ट्रम्प प्रशासनको कोरोना व्यवस्थापनको जनमत संग्रह हुनुपर्ने बताउँदै आफ्नो अभियान सुरू गरेको थियो।

अहिले ट्रम्प अभियानले यसैको जवाफी हमला सुरू गरेको हो।

जवाफी हमला गर्ने क्रममा ट्रम्प अभियानले बाइडनकै शैलीमा उनीविरुद्ध मोर्चा खोलेको छ।

रोयटर्सलाई जनाए अनुसार राष्ट्रपतिको यो अभियानमा राष्ट्रव्यापी विज्ञापनका लागि कम्तिमा १० मिलियन डलर खर्च गर्नेछन्।

ती विज्ञापनहरू टिभी नेटवर्क, प्रसारण आउटलेट र अनलाइनमा प्रसारण हुनेछ।

ट्रम्पको अभियानले यस अन्तरगत एक विज्ञापनमा चिनियाँ कार्ड प्रयोग गरेको छ।

कोरोना भाइरस फैलिनुमा चीन दोषी रहेको पटकपटक ट्रम्पले बताउँदै आएका छन् र उनका अभियानकर्ताहरूले यसैलाई मतदातासँग जोडिने एउटा कडी बनाएका छन्। यसमा उनीहरूले बाइडनलाई समेत मुछेर अभियान सुरू गरेका छन्।

एउटा विज्ञापनमा ट्रम्प अभियानले पूर्व उपराष्ट्रपति बाइडनले चीनबाट आउने विदेशी नागरिकहरूको यात्रा प्रतिबन्ध लगाउनुपर्ने ट्रम्प प्रशासनको जनवरीको कदमलाई विरोध गरेको आरोप लगाएको छ।

बाइडन देशका सामुन्ने यो प्रकरणमा ‘खडा’ हुन नसक्ने उनीहरूको बुझाइ छ।

बाइडन अभियानले भने सो आरोपको आलोचना गर्दै उल्टै ट्रम्पमाथि आरोप लगाएको छ।

बाइडन अभियानका प्रवक्ता एन्ड्र्यू बेट्सले उल्टै ट्रम्पले जनवरी र फरवरीमा कोरोना भाइरसको प्रकोप सामनामा चीनले गरेको कामको प्रशंसा गरेको र कोरोना रोकथाममा ट्रम्प प्रशासनको व्यवस्थापन सय वर्षको इतिहासकै खराब व्यवस्थापन भएको आरोप लगाएका छन्।

बाइडन अभियानले डेमोक्रेटिक पार्टीको प्राइमरीका समय लाखौं रुपैयाँ विज्ञापनमा खर्च गरेका थिए। उनीहरुले आउँदो महिनाहरूमा राजनीतिक समूहहरूको साथमा अझ थप खर्च गर्ने अनुमान छ।

विज्ञापन एनालिटिक्स र क्रस स्क्रिन मिडिया नाम गरेका दुई विज्ञापन कम्पनीले २०२० को ट्रम्प-बाइडन दौडमा विज्ञापनमा मात्र झन्डै १.७ बिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरेका छन्।

हालैका दिनहरुमा भएका मतसर्वेक्षणहरूमा ट्रम्प र बाइडनबिच निकट प्रतिष्पर्धा रहेको देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ