आर्थिक राजनीती समाचार

बजेट अधिवेशनभरि सांसद एउटै सिटमा बस्ने, दर्शक दीर्घा खाली रहने

संसदको बजेट अधिवेशन भोलि शुक्रबार सुरु हुँदैछ । बेलुका ४ बजेपछि सुरु हुने दुवै सदनको बैठकका लागि तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले सांसद र कर्मचारीलगायतका लागि विभिन्न नियम बनाइएको छ । बैठक कक्षमा प्रवेश गर्ने, बस्ने, बोल्नेलगायतका कुराको व्यवस्थापन गरिएकोे छ । सांसदहरुका लागि दुई सिट छोडेर र अधिवेशन अवधिभर एउटै सिटमा बस्ने व्यवस्था मिलाइएको छ ।

यस्तै प्रधानमन्त्री, मन्त्री तथा दलका नेताबाहेक सांसदले रोस्टम प्रयोग नगर्ने, संसद भवनमा प्रवेश गर्दा र फर्किंदा फरक ढोकाको प्रयोग गर्ने, क्यान्टिन र सभाहलबाहिर भिडभाड नगर्ने नियम बनाइएको छ ।

यस्तै दर्शक दीर्घामा कसैलाई पनि प्रवेश नदिइने र सञ्चारमाध्यमलाई सचिवालयले फोटो उपलब्ध गराउने सचिवालयले जनाएको छ ।
त्यसैगरी बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने, बैठक अवधिभर सबैले मेडिकल मास्कको प्रयोग गर्नुपर्नेलगायतका नियम बनाइएको छ ।

कोरोना परीक्षणको लागि सङ्घीय संसद्का सांसदसहित ४ सय ४१ जनाको नमुना परीक्षण गरिएको छ । बैठकमा सहभागी हुन परीक्षणको नतिजा नेगेटिभ आएको हुनुपर्ने भएकाले आज नमुना सङ्कलन गरी परिक्षणको लागि पठाइएको छ ।

बाँकीको भोलि बिहान नमुना सङ्कलन गरिने संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । आज २ सय १२ जना सांसद र २ सय २९ जना बैठकसँग सम्बन्धीत कर्मचारी गरी ४ सय ४१ जनाको घाँटीको स्वाब सङ्कलन गरिएको र बाँकीको स्वाब भोलि बिहान १० बजेभित्र सङ्कलन गरिने उहाँले बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ