राजनीती समाचार स्वास्थ्य

प्रदेश १ मा कोरोना अस्पताल थपिँदै, सिद्धबाबाको आश्रम पनि प्रयोग गरिने

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश १ सरकारले अस्पतालको संख्या थप्ने तयारी सुरु भएको छ । यसैक्रममा विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी (सिद्धबाबा)ले प्रयोग गर्दै आएको चतरास्थित जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठको अतिथी गृहमा पनि कोरोना अस्थायी अस्पताल बनाइने भएको छ ।

बलात्कार आरोपमा गिरी पक्राउ परेयता सुनसान बनेको उनको आश्रमको अतिथी गृहमा २ सय शय्याको अस्थायी अस्पताल बनाउने निर्णय प्रदेश १ सरकारको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिले गरेको हो । गिरी हाल पुर्पक्षका लागि थुनामा छन् ।

कोरोना संक्रमित बढ्न थालेपछि झापा, सुनसरी र मोरङमा अस्पताल थप्ने तयारी सुरु भइसकेको छ । विराटनगरमा थप १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामानन्दाचार्य सेवापीठको भवन, नेपाली सेनाको इटहरी ब्यारेकमा गरी जम्मा ८ सय ५० बेड राख्ने तयारी सरकारले गरेको छ ।

प्रदेश १ मा हाल सुनसरीको धरान र मोरङको विराटनगरमा कोरोना संक्रमितको उपचार गर्ने अस्पताल छ । विराटनगरको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ५० शय्या र धरानमा एक सय शय्या छ । धरानको अस्पताल आइतबारबाट सञ्चालन आउँदैछ । तर विराटनगरमा संक्रमित नअटेपछि झापा र सुनसरीका २७ जना संक्रमित धरानमा राखिएको छ ।

लेभल ३ को (गम्भिर प्रकृतिको उपचार गर्ने) अस्पताल धरानमा राखिएकाले २७ जनालाई केही दिन भित्र गोठगाउँमा निर्मित कोरोना उपचार केन्द्रमा सार्ने प्रदेश सरकारको तयारी छ ।

११ भण्टिलेटर तयार

प्रदेश १ मा गम्भिर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि ११ वटा भेण्टिलेटर तयारी अवस्थामा छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३ वटा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८ वटा भण्टिलेटर छन् ।

प्रतिष्ठानले भण्टिलेटरको संख्या २० वटा पु¥याउने तयारी गरिरहेको उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीका सल्लाहकार दिलिप भट्टराईले जानकारी दिए । एकसय शैय्याको अस्पतालमा तत्काल ५ वटा आईसीयू बेड छन् । यो पनि आवश्यकता अनुसार थप गर्न सकिने उनले बताए ।

कोशी अस्पताल विराटनगरका फोकल पर्सन डाक्टर डेनप्रसाद आचार्यका अनुसार विराटनगरमा निर्माण गरिएको ५० शय्याको कोभिड १९ उपचार केन्द्रमा १० वटा आईसीयू बेड छन् । अवस्था अनुसार कोशीमा ७० वटासम्म बेड थप गर्न सकिन्छ ।

कोरोना संक्रमितको उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लेबल ३ को अस्पतालको रुपमा विकास गरिएको छ । सो अस्पताललाई प्रदेश १ र २ का गम्भिर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने भट्टराईले बताए ।

१५ हजार बेडको होल्डिङ एरिया

प्रदेश १ सरकारले दैनिक एक हजारको दरले कोरोना परीक्षणको तयारी गरिरहेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशमा तत्काल ४० हजारको कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताए ।

प्रदेश सरकारले उच्च जोखिम जिल्लामा जनसंख्याको १ प्रतिशत, जोखिम भएका क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५० प्रतिशत जनसंख्याको परीक्षण गर्नेछ ।

प्रदेश १ मा भारतबाट तत्काल २० हजार फर्कने अनुमान गरिएको छ ।

भारतबाट आएकाहरुलाई राख्न ईलाम, झापा, मोरङमा र सुनसरीमा १५ हजारलाई राख्ने होल्डिङ एरिया निर्माण सुरु भएको छ ।

नेपाल प्रवेश गरेकालाई क्वारेन्टाइनमा राख्न स्थानीय तहहरुले पनि क्वारेन्टाइनको व्यवस्था गरिरहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ