अन्तराष्ट्रिय आर्थिक समाचार

पेरुकी अर्थमन्त्री मारियाको चौतर्फी प्रशंसा, के गरिन् त्यस्तो ?

पेरुकी अर्थमन्त्री मारिया एन्टोनिएटा आल्भाले अहिले चौतर्फी प्रशंसा बटुलिरहेकी छन् ।

उनलाई मानिसहरू प्रेमपूर्वक टोनी भनी बोलाउँछन् । आमाहरू उनीसँग आफ्नो सन्तानलाई सेल्फी खिचाउँछन् । सडकमा सामान बेच्नेहरू उनलाई ब्रासलेट थमाउँछन् । कलाकारहरू उनको चित्र कोर्छन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् । टीभी च्यानलहरू उनको अन्तर्वार्ता लिन हत्ते गर्छन् ।

आल्भाले महाव्याधिबाट ध्वस्त हुन लागेको पेरुलाई उद्धार गर्ने महत्त्वाकांक्षी प्याकेज अघि सारेकी छन् । उनले साना उद्यमी र सामान्उ नागरिकका लागि दिल खोलेर राहत दिएकाले प्रशंसा बटुलिरहेकी हुन् ।

‘दक्षिण अमेरिकाको दृष्टिकोणबाट हेर्दा पेरु म्याक्रो रेस्पोन्सको सवालमा अग्रणी नै हो,’ रिकार्डो हाउसमानले भने । हाउसमान हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्री हुन् र उनी आल्भालाई कुनै बेलामा पढाउँथे पनि । पेरु तथा अन्य १० मुलुकमा कोरोनाभाइरसको असर कम गर्ने उपायका विषयमा सल्लाह दिने विज्ञहरूको एक टोलीको नेतृत्व उनैले गरेका हुन् ।

सन् २०१९ को अक्टोबर महिनामा मन्त्री नियुक्त भएकी आल्भालाई राष्ट्रपति मार्टिन भिजकाराको मन्त्रिपरिषद्को केन्द्रीय सदस्य मानिएको छ । उनी आत्तिएका जनतालाई सार्वजनिक नीतिको व्याख्या गर्न लामो समय खर्च गर्ने गर्छिन् ।

‘उनी संवाद गर्न सिपालु छिन् र अहिलेको परिस्थितिमा त्यो अत्यन्त महत्त्वपूर्ण छ,’ पूर्व अर्थमन्त्री कार्लोस ओलिभाले बताए ।

दक्षिण अमेरिकाका अन्य मुलुकमा आल्भा जस्तै युवा अर्थमन्त्री छन् । आल्भा ३५ वर्षकी भइन् भने अर्जेन्टिनाका मार्टिन गजम्यान ३७, डोमिनिकन रिपब्लिकका हुआन एरियल हिमेनेज ३५ र इक्वेडरका रिचर्ड मार्टिनेज ३९ वर्षका छन् ।

अहिले नीतिगत निर्णय लिनका लागि सहज समय त हैन र आल्भा पदमा कायम रहलिन् कि भन्ने कुरा हेर्न बाँकी नै छ । केही अर्थशास्त्रीहरूले देशको कुल गार्हस्थ्य उत्पादन १० प्रतिशतभन्दा बढी नै गिर्ने अनुमान गरेका छन् । यससँगै व्यापक बेरोजगारीको समस्या पनि छ ।

अनि चुनाव आउन एक वर्ष मात्र बाँकी रहँदा संसद्को लोकरञ्जनवादी एजेन्डाको सामना पनि उनले गर्नुपरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ