समाचार स्वास्थ्य

पुरुषमा भन्दा महिलामा संक्रमणको दर न्यून – स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार नेपालमा पुरुषमा भन्दा महिलामा संक्रमण अत्यन्त न्यून रहेको छ ।

नियमित प्रेस ब्रिफिङमा बोल्दै सोमवार मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित पुरुषको संख्या ५८ र महिलाको संख्या १७ रहेको बताएका हुन् । यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ७५ पुगेको छ ।

आइतवार साँझ नेपालगंजमा एकैपटक दुई दर्जन बढी संक्रमित फेला परेका थिए ।

हालसम्मको अद्यावधिक तथ्यांकअनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा १३ जना, वागमती प्रदेशमा ७ जना, गण्डकीमा २ जना, प्रदेश ५ मा १७ जना, कर्णालीमा शून्य र सुदूरपश्चिममा ५ जना संक्रमित रहेका छन् ।

संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ५९ जना अझै पनि उपचारको क्रममा छन् ।

संक्रमितहरूलाई प्रादेशिक अस्पतालहरूमा राखेर उपचार गरिएको छ । जसमध्ये रुपन्देहीमा १ जना, नेपालगंजमा १६ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, बीरगंजमा ९ र विराटनगरमा ३१ जनाको उपचार भइरहेको छ ।

उपचारार्थ सबैको स्वास्थ्यस्थिति सामान्य रहेको डाक्टर देवकोटाले बताए ।

डाक्टर देवकोटाले मान्छेको शरीरमा किटनाशक औषधिहरू छर्केर कोरोना भाइरस नमर्ने बरू त्यसले थप श्वासप्रश्वास सम्बन्धी रोगहरू निम्त्याउने प्रष्ट पारेका छन् ।

‘विभिन्न सामाजिक सञ्जालमा समेत मान्छेहरूमाथि किटनाशक औषधि छर्किएको हामीले देखेका छौं,’ उनले भने, ‘सोडियम हाइड्रोक्लोराइड र क्लोरिनको झोलले मानिसको शरीरभित्र रहेको कोरोना भाइरस नियन्त्रणमा आउँदैन । बरू त्यसले आँखा, नाक र मुखमा हानी पुर्याउँछ ।’

तर ती किटनाशक औषधिहरूलाई सही रूपमा प्रयोग गर्ने हो भने सतहमा टाँसिएर रहेका विषाणु भने मार्न सकिने डाक्टर देवकोटाले बताए ।

‘यी विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ । ती औषधिहरूको सही ढंगले प्रयोग गर्न गराउन मन्त्रालय आग्रह गर्दछ,’ उनले भने ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ