राजनीती समाचार

देउवा किन मौन ?

सत्तारूढ नेकपाको स्थायी कमिटी र प्रमुख प्रतिपक्ष कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार करिब एकै समयमा चले । बैठकमा एजेन्डा पनि समान थियो । नेकपाको सचिवालय बैठकको एजेन्डा नै प्रधानमन्त्री केपी शर्मा ओली बनेका थिए । कांग्रेस बैठकमा पनि प्रधानमन्त्री ओलीकै भूमिका र उनले निम्त्याएका पछिल्ला घटनाक्रममाथि छलफल भयो ।

स्थायी कमिटी बैठकमा बहुमत नेताहरू ओलीप्रति आक्रामक थिए भने कांग्रेस बैठक अलि नरम थियो । प्रधानमन्त्री र पार्टी अध्यक्ष नै छाड्नुपर्ने माग नेकपाभित्र उठिरहँदा प्रमुख प्रतिपक्ष बैठकमा भने राजीनामाको विषय उल्लेख गर्ने कि नगर्ने भन्नेमा लामो विवाद भयो । अन्ततः कांग्रेसले राजीनामा शब्द प्रयोग गरेन तर घुमाउरो शैलीमा राजीनामाको आशय बोकेको निर्णय सार्वजनिक गर्‍यो ।

‘सरकारका क्रियाकलापले नेपाली जनताले विगतको निर्वाचनमार्फत प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको छ । तसर्थ नेकपाका अध्यक्ष ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्छ,’ कांग्रेस निर्णयमा भनिएको छ ।

बैठकमा राजीनामाका विषयमा केन्द्रीय सदस्यहरूबीच मत बाझिँदासमेत सभापति शेरबहादुर देउवाले केही बोलेनन् । उनी यस्तो मागको पक्ष र विपक्षी कतै देखिएनन् । बैठकको अध्यक्षता गरेका देउवाले न त केन्द्रीय सदस्यहरूले उठाएको सवालको जवाफ दिए, न त पार्टीको धारणा नै बैठकमा राखे ।

सत्तारूढ दलभित्रै द्वन्द्व चर्किरहेका बेला देउवाको मौनतालाई समेत कतिपय सदस्यहरूले अर्थपूर्ण रूपमा हेरेका छन् । ‘देउवा आफ्ना लागि एकदमै बाठो मान्छे हुनुहुन्छ, प्रधानमन्त्री ओलीलाई हटाउन सत्तारूढ दलभित्र चलिरहेको संघर्षका बेला उहाँको मौनताले राजनीतिक अर्थ पक्कै राखेको छ,’ देउवानिकट एक सदस्यले भने । देउवाले केही दिनअघि प्रधानमन्त्री ओलीसँगको भेटको प्रसंगसमेत उठाउन चाहेनन् । यसअघिको बैठकमा देउवा बीचबीचमा जवाफ दिन्थे । केन्द्रीय सदस्यहरूले उठाएका विषयमा बैठक समापनका बेला जवाफ दिन्थे । तर, बुधबार उनले धन्यवाददेखि केही बोलेनन् ।

संविधानमाथि कार्यकारी प्रमुखबाट एकपछि अर्को प्रहार हुँदा पनि कांग्रेस आक्रामक बन्न नसकेको प्रति केन्द्रीय सदस्य प्रदीप पौडेलले खिन्नता प्रकट गरे । यसले प्रतिपक्ष कहाँ छ भन्ने अन्योल खडा गरेको उनको भनाइ छ । ‘आफूले विकल्प दिन पाउँदा मात्रै गलत भन्ने, आक्रामक हुने तर आफू विकल्प नहुँदा लोकतान्त्रिक मूल्यमान्यता र मर्ममाथि निरन्तर प्रहार हुँदा पनि नरम बस्ने ?’ भन्दै सभापति देउवाप्रति लक्षित दृष्टिकोण उनले बैठकमा राखेका थिए । पौडेलले प्रमुख प्रतिपक्ष सरकारका सबै गलत कामकारबाहीप्रति नरम बनेको टिप्पणी बताए । उनले यतिबेला प्रधानमन्त्रीको राजीनामाको विषयलाई आक्रामक रूपमा उठाउनुपर्नेमा जोड दिए ।

संवैधानिक मर्यादा नाघेर चल्न थालेको भन्दै अनौपचारिक छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीको राजीनामा नै माग्नुपर्ने सुझाव सभापति देउवालाई दिएका थिए । बैठकमा भने उनले त्यस’bout बोलेनन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राजीनामा शब्द प्रयोग गरेनन् । तर ओलीप्रति आक्रामक उनी पनि थिए । शासन सञ्चालनमा अक्षम र अयोग्य भएको भन्दै वरिष्ठ नेता पौडेलले बैठकमा ओलीविरुद्ध आक्रोश पोखेका थिए ।

बैठकका एजेन्डा के–के ल्याउने भन्ने’boutमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा छलफल भएको थियो । सभापति देउवाले आफ्नो कार्यकक्षमै वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिटौलासहितको उपस्थितिमा पदाधिकारी बैठक राखेर छलफल गरेका थिए । त्यस बेला पनि राजीनामा माग गर्ने एजेन्डा प्रस्तुत गर्ने कि नगर्ने भन्नेमा पदाधिकारीबीच छलफल भएको थियो । सत्तारूढ दलको आन्तरिक संघर्षमा कांग्रेस प्रवेश गर्न नहुने भन्दै राजीनामाका विषयमा प्रवेश नगर्ने निचोड पदाधिकारीले निकाले । त्यसै आधारमा एजेन्डा ‘प्रधानमन्त्री केपी ओलीले पदमा बस्ने वैधता गुमाएको’ भनेर ल्याइएको थियो ।

बैठकमा केही केन्द्रीय सदस्यहरूले राजीनामा माग्नुपर्ने विषय उठाउँदा महामन्त्री पूर्णबहादुर खड्काले राजीनामाको विषय एजेन्डा नभएको तर्क गर्थे । सभापतिनिकट रहेका केन्द्रीय सदस्य रमेश लेखकले वैधता गुमाएको भनेर उल्लेख गर्न नमिल्ने कानुनी प्रश्न अघि सारे । लेखकले संसद्मा बहुमत हुन्जेल प्रधानमन्त्रीले वैधता गुमाएको भन्न नमिल्ने बरु राजनीतिक र नैतिक आधार गुमाएको भन्न मिल्ने भन्दै सुझाव दिए । निर्णयमा उनकै सुझाव लागू भयो ।

राजीनामा माग्न नहुनेका पछि दुइटा कारण प्रस्तुत भएका थिए । पहिलो त आन्तरिक शक्ति संघर्षमा कांग्रेसले ओलीको राजीनामा मागेर पस्न हुन्न भन्ने तर्क थियो । कांग्रेसले त्यसरी राजीनामा माग्दा नेकपालाई एकीकृत हुने मौका मिल्ने उनीहरूको भनाइ थियो । अर्को सवाल सरकार परिवर्तनको अस्थिर राजनीतिको साक्षी कांग्रेस बन्न नहुने मत थियो । केन्द्रीय सदस्य श्याम घिमिरेले भने, ‘उनीहरूभित्र चर्केको आन्तरिक संघर्षकै कारण २, ४ महिनामा सरकार जान्छ । उनीहरूलाई खेल्न दिऔं, कांग्रेस यसमा प्रवेश नगरौं । हामी दर्शकदीर्घामा बसेर हेरौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ