आर्थिक राष्ट्रिय शिक्षा समाचार

दुई महिनादेखि मुष्ठिदान उठेन, गुरुकुलका बटुक र आचार्य समस्यामा

कोरोना नियन्त्रणका लागि सुरू गरिएको लकडाउन लम्बिएका कारण झापाको कमल गाउँपालिकामा सञ्चालित गुरुकुल धान्नै कठिन भएको छ। घर घरबाट चामल संकलन गरि सञ्चालन हुँदै आएको कमल ७ स्थित सिद्धेश्वर गुरुकुल शिक्षा मन्दिर टिकाउनै हम्मे परेको हो।

२६ जना बटुक विद्यार्थीहरुलाई आवासीय रुपमा शिक्षा प्रदान गर्दै आएको यस गुरुकुलमा हाल १७ जना बटुक र आचार्यसहित १९ जना आवासीय रुपमा रहेका छन्।

स्थानीय करिव तीन सय घरबाट संकलित मुष्ठिदानबाट धानिँदै आएको गुरुकुलमा दुई महिनादेखि चामल संकलन हुन सकेको छैन। सिद्धेश्वर शिव मन्दिर धार्मीक संरक्षण संस्थाले सञ्चालन गर्दै आएको गुरुकुलको मुख्य श्रोतनै मुष्ठिदान भएको अध्यक्ष सोमनाथ भण्डारीले बताए।

विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिएपछि मुष्ठिदान संकलन स्थगित भएको उनले जनाए। लकडाउन सुरू हुनुअघि नै त्रासका कारण मुष्ठिदानको रुपमा संकलन हुने चामल लिन संकलक पठाउन छोडिएको उनले बताए।

कोरोना फैलने त्रासमा लकडाउन अघिनै केहि बटुकहरु आ-आफ्ना घर गएको र हाल बटुक र गुरुसहित १९ जना आवासीय रुपमा रहँदै आएको गुरुकुलका आचार्य बुद्धिप्रसाद आचार्यले बताए। गुरुकुलमा पूर्वीय दर्शन तथा हिन्दू ग्रन्थहरु वेद, रुद्री, चण्डी, गीता लगायतका ग्रन्थ पठन पाठन हुने गरेको छ।

गाउँपालिकाले दियो राहत

मुष्ठिदान संकलन नहुँदा गुरुकुल सञ्चालनमा कठिनाई भएपछि शनिबार कमल गाउँपालिकाले राहत प्रदान गरेको छ। गाउँपालिकाले एक क्विन्टल चामलसहित नुन, तेल, दाल, सावुन लगायतका राहत सामाग्री प्रदान गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए।

लकडाउन लम्बिई रहे पुन: थप राहत प्रदान गरिने उनले जनाएका छन्। गाउँपालिकामा तीनवटा आवासीय विद्यालय रहेका र अन्यका विद्यार्थीहरु लकडाउन अघि नै घर गएकाले हाल समस्या यसै गुरुकुलमा बढी रहेको पाइएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन्‌।

दैनिक ज्यालादारी तथा मजदुरी गर्नेहरुलाई पहिलो चरणको राहत प्रदान गरिएको र गुरुकुल सञ्चालन सहयोगमा लागि पनि खाद्यान्न राहत उपलव्ध गराइएको उनले जनाइन्‌।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ