आर्थिक कृषि समाचार

छैन मूल्य हरियो पत्तीको

चिया किसानलाई आफ्नो पेसा यतिबेला निल्नु न ओकल्नुझैँ भएको छ । डरत्रासबीच चिया टिपेर उचित मूल्यमा बेच्न नपाएपछि चिया किसान समस्यै समस्यामा छन् । चिया नटिपौँ बोटमै झ्याङ्गिने डर, टिपौँ मूल्य नपाउने पीर ।

यसपटक चिया दिवसमा पनि चिया किसान, उद्योगी, व्यवसायी खुसी भएनन् । हरेक वर्ष वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउने गरिएको भए पनि यसपटक खल्लो भएको हो । यसपटक २४औँ राष्ट्रिय चिया दिवस चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकामै मनाइएन ।

कोराना भाइरस (कोभिड १९)को महामारीपछि गरिएको लकडाउनका कारण समयमा चिया टिपेर बेच्न नपाएका किसानले त चिया दिवसको पत्तै पाएनन् । दुःखले चिया टिपेर उद्योगमा पु¥याउने किसानले चियाको मूल्य पाउने नपाउने टुङ्गो छैन । कतिपय कारखानाले चिया नै फर्काइदिन्छन् त कतिले जोखेर पछि भेटौँला भन्छन् । किसानलाई हातलागि केही पनि छैन । न्यूनतम दैनिक ज्यालादारी, सामाजिक सुरक्षाभत्तालगायत माग राखेर मजदुरले गरेको आन्दोलनका कारण गत साल पनि चिया दिवस मनाइएको थिएन ।

चियाको फस्र्ट फ्लस (पहिलो टिपाइ) गुमाएका किसान र उद्योगी अहिले पनि दोधारमै छन् । एकातिर टिपेको चिया बिकेन, मूल्य पाएनौँ भन्ने किसानको गुनासो छ भने अर्कोतर्फ लामो समयको बन्दाबन्दीका कारण उद्योगले पेमेन्ट गर्ने अवस्था नरहेको उद्योगीको भनाइ छ । सूर्योदय नगरपालिका–१० का चिया किसान कमल घिमिरेले चिया टिप्नु बाध्यता भए पनि उपलब्धि शून्य भएको बताउनुभयो । घिमिरेले भने, चिया नटिपौँ बोटै बिग्रन्छ, टिपेर बेच्न लैजाऔँ, पैसा पाइँदैन ।

बन्दाबन्दीका कारण समयमा उद्योग सञ्चालन गर्न नपाएपछि उद्योगी किसानलाई कसरी भुक्तानी दिने भन्ने समस्यामा छन् । सूर्योदय टि प्रोड्युसर्स एसोसिएसनका प्रवक्ता बुद्ध तामाङले उद्योग सञ्चालनमा घाटा भए पनि किसानको हितका लागि सञ्चालनको विकल्प नभएको बताए। तामाङले भन्नुभयो, विश्व बजारमा जाने चियाको भविष्य नै सखाप भएको छ, किसानको मात्र हैन, सिङ्गो चियाको भविष्य के हुन्छ भन्न सकिन्न । नेपाल, भारत, युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा निर्यात हुने चिया अहिले बगान र गोदाममै हुर्किरहेको छ । किसानले चिया टिपे पनि सबै उद्योगले खरिद गरेर प्रशोधन गर्नसक्ने अवस्था छैन ।

विगतदेखि नै चिया क्षेत्रमा समस्या नदेखिएका भने होइनन् । भारत परस्त बजार रहेको नेपालको चियामा बारम्बार समस्या आइरहन्छ । कहिले गुणस्तर त कहिले पेस्टिसाइडको असर देखाएर नेपाली चिया सिमानामा नरोकिएको वर्ष नै छैन । नेपालबाट लगिएको तयारी चियाको कोलकातास्थित ‘सेन्ट्रल फुड ल्याबोरेटरी’मा नमुना परीक्षण गराएपछि मात्र निर्यातको इजाजत दिने गरिएको छ ।

नेपालको चिया भारतबाहेक १८ वटाभन्दा बढी देशमा पुग्ने गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कले देखाउँछ तर साना चिया उद्यमीका लागि प्रशोधित चियाको ९० प्रतिशत बजार भारत नै रहेको चिया तथा कफी विकास बोर्डको विवरणमा उल्लेख छ । नेपालको करिब ८५ प्रतिशत चिया भारत जाने गरेका छ । चियाविज्ञ चन्द्रभूषण सुब्बाका अनुसार नेपालमा वार्षिक उत्पादन हुने ५० लाख किलो चियामध्ये ८५ प्रतिशत भारत जान्छ ।

चियाको राजधानी मानिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई तत्काल चिया क्षेत्रमा समस्या देखिए पनि चियाको बजार चाँडै उठ्नेमा आशावादी भएको बताउँछन्। उनले बिहान उठिसक्दादेखि जो कोहीलाई चाहिने चियाको बजार अब देशभित्रै पनि खोज्नुपर्ने बताउँछन्।

इलामसहित १४ जिल्लामा चिया खेती
इलाम सहित १४ जिल्लामा व्यावसायिक रूपमा चिया खेती हुने गरेको छ । चियामा नौ हजार २३६ कृषक तथा चिया उत्पादक व्यवसायी आबद्ध छन् । जसमध्ये नौ हजार १२७ ले व्यक्तिगत रूपमा र १०८ संस्था संस्थागत रूपमा चिया उत्पादन गर्दै आएका छन् । १२ हजार ६६ हेक्टर जमिनमा चिया खेती हुँदै आएको नेपालमा कुल ११ हजार ४१ वटा बगान रहेका छन् ।

चिया क्षेत्रमा ५० हजार बढी मजदुर स्थायी रूपमा काम गर्दै आएका छन् । इलामका ९६ प्रतिशत किसानले आफ्नै बारी र ४ प्रतिशतले भाडामा जग्गा लिएर चिया खेती गरेका छन् । इलाम, झापा, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा अधिक विस्तार भएको र बाँकी नौ जिल्लामा पनि चिया खेती विस्तार भइरहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ