राष्ट्रिय समाचार स्वास्थ्य

चीन पठाएको राहत उपल्लो मुस्ताङवासीद्वारा अस्वीकार

चीनले उपल्लो मुस्ताङका लागि पठाएको राहत सामग्री कोरोना संक्रमण हुने डरले मुस्ताङवासीले अस्वीकार गरेपछि कोरला नाकामा नै अड्किएको छ। उपल्लो मुस्ताङका लोघ्याघर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाका सर्वसाधरणले लिन अस्वीकार गरेपछि सो राहत सामग्री पाँच दिनदेखि कोरला नाकामा नै रहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्ट बताए।

उनीहरुले चीनबाट प्राप्त राहत सीमामा रहेका चिनियाँ अधिकारीहरुलाई फिर्ता लैजान आग्रह समेत गरेका छन्। कोरोला नाका रहेको लोमान्थाङ गाउँपालिकाका वडाध्यक्ष ह्वाङ्ग कुंगा लामा र पासाङ गुरुङमार्फत सीमामा रहेका चीन सरकारका प्रतिनिधिले राहत पठाएका थिए।

कोरोला नाकाबाट भित्रिएको राहत स्थानीयहरुले नलिने सामूहिक निर्णय गरेर सीमामा रहेका चीन सरकारका प्रतिनिधिलाई खबर समेत गरेका जनाइएको छ। कोरोना महामारी सुरुवात भएको देशबाट यस वर्ष कुनै पनि राहत नलिने कुरामा लोमान्थाङ गाउँपालिकाका सर्वसाधरण एकमत भएपछि राहत कोरोलामै अड्किरहेको हो। चीनले पनि शुक्रबारसम्म राहत सामग्री फिर्ता लगेको छैन।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष विष्टले स्थानीयलाई भेला गरी राहत लिने वा नलिने भन्ने ’bout छलफल गरेका थिए। भेलामा राहत नलिने सर्वसम्मत निर्णय गरेपछि राहत सामग्री नाकामा नै अड्किएको अध्यक्ष विष्टले बताए।

चीनले एक हजार बोरा चामल, २०० बोरा दाल, नुन ३० बोरा, खाने तेल तीन हजार लिटर, चिनी ५० बोरा, साबुन लगायतका सामाग्री पठाएको जनाइएको छ।

यता मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने स्थानीयले राहत सामग्री अस्वीकार नगरेको बताउँछन्। उपल्लो मुस्ताङका दुईवटै गाउँपालिकाका अध्यक्ष सदरमुकाम जोमसोम भएको बेलामा चीनबाट राहत सामग्री आएकाले जिम्मा लिने व्यक्ति नहुँदा नाकामा नै राख्नु परेको प्रजिअ अर्यालको भनाइ छ।

‘राहत सामाग्री स्थानीयले अस्वीकार गरेका होइनन्, बरु गाउँपालिकाले स्वीकार गर्न ढिलाई भएको हो,’ उनले भने, ‘यस विषयमा बुझ्नका लागि लोमान्थाङ र लोघ्याघर दामोदर कुण्डका अध्यक्षसँग सम्पर्क गर्दा मोवाइलमा सम्पर्क हुन सकेन।’

उपल्लो मुस्ताङमा तल्लो मुस्ताङबाट निर्माण सामग्री समेत लैजान स्थानीयले रोकेका छन्। पहिला जीवन अनि मात्र विकास भनेर स्थानीयले तल्लो मुस्ताङबाट सामग्री लैजान समेत रोकेको स्थानीयले बताए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ