अन्तराष्ट्रिय समाचार स्वास्थ्य

चीनमा लगातार पाँचौ दिन कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या शुन्य, ब्राजिलमा बढ्दो

चीनमा लगातार पाँचौ दिन कोरोनाभाइरसको संक्रमणबाट कसैको मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । पछिल्लो २४ घण्टामा देशमा मात्र दुई जना नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये एक जना बाहिरबाट आएका व्यक्तिमा संक्रमण देखिएको र अर्को उत्तरी साङ्सी प्रान्तमा स्थानीय संक्रमण रहेको बताइएको छ ।

देशमा १२ वटा लक्षण नदेखिएका केसहरु पनि फेला परेका छन् । यसअघि, चीनले लक्षण नदेखिएकाहरुलाई गणना गर्दैन थियो ।

हालसम्म चीनमा ८२ हजार ८७७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने यसबाट ४ हजार ६३३ जनाले ज्यान गुमाएका छन् । ७७ हजार ७१३ जना रोगमुक्त भएका छन् भने ५३१ जना उपचाररत छन् ।

उता, ब्राजिलमा भने भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणबाट ४२१ जनाले ज्यान गुमाएका छन् । योसँगै ब्राजिलमा ज्यान गुमाउनेको संख्या ६ हजार ७५० पुगेको छ ।

त्यस्तै, त्यहाँ ४ हजार ९७० नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलमा संक्रमितको कूल संख्या ९६ हजार ५५९ पुगेको छ ।

ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले भने भाइरसको प्रभावलाई सामान्य फ्लुको जस्तो भएको बताउँदै आएका छन् । ल्याटिन अमेरिकी देशमध्ये ब्राजिलमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् ।

विश्वभर कोरोनाभाइरसबाट ३४ लाख मानिस संक्रमित भइसकेका छन् भने २ लाख ४३ हजार बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकामा मात्र ११ लाख ३२ हजार कोरोनाभाइरस संक्रमित रहेका छन् भने ६६ हजार ३६४ जनाले ज्यान गुमाइसकेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ