आर्थिक राष्ट्रिय समाचार

घाेराही उपमहानगरपालिकाले विपन्नलाई राेजगारी दिने

दाङको घोराही उपमहानगरपालिकाले लकडाउनका कारण छाक टार्न कठिन अवस्थामा पुगेका श्रमिकहरुलाई रोजगार दिने भएको छ । उपमहानगरले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दैनिक छाक टार्न समस्या परेका श्रमिक वर्गलाई रोजगारी दिने र दैनिक ज्याला नगद नै उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरको ७९ औँ कार्यपालिका बैठकले लकडाउन लम्बिँदै जाँदा श्रमिकहरु मारमा परेको र छाक टार्न समस्या भएकालाई भौतिक दुरी कायम गर्दै काम गर्ने र दैनिक पाँच सय १७ रुपैयाँ ज्याला दिने निर्णय गरेको हो ।

अहिले झण्डै तीन हजार घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको र लकडाउन लम्बिँदै जाँदा विकल्पको रुपमा रोजगारीको कार्यक्रम सिर्जना गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणबाट बच्न भौतिक दुरीलाई कायम गर्दै नाला सफाइ, सडक मर्मत, पर्खाल निर्माण, सरसफाइलगायतका काममा लगाउने र दैनिक ज्याला दिने उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्वीकृत आयोजनाहरुमध्ये प्रत्येक वडामा न्यूनतम एक आयोजना पर्ने गरी स्वीकृत आयोजना मध्येबाटै प्राथमिकता अनुसारका आयोजना छनाेट गरी निकासा भएको बजेटकै सीमाभित्र रही आयोजना सञ्चालन गर्ने उपमहानगरले निर्णय गरेको हो ।

चालु आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ६१ लाख ३० हजार रुपैयाँ बजेट आएको छ । राहत वितरणले धान्न नसक्ने देखिएपछि भौतिक दुरी कायम गर्दै काम दिने र दैनिक ज्याला दिने निर्णय भएको उपमहानगरको भनाइ छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ