अन्तराष्ट्रिय राजनीती समाचार

गद्दार खोज्नका लागि किम जोङ उनले फैलाएका थिए आफ्नो मृत्युको खबर, कसको भाग्य खोटियो ?

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्युको अडकलबाजी मिडियामा खुबै छाएको भए पनि एउटा कारखानाको उद्घाटनमा उपस्थित भएर उनले सबै अनुमान विफल बनाइदिए ।

तर उनी तीन हप्तासम्म किन गायब भए भन्ने विषयमा चाहिँ अहिले आएर रहस्योद्घाटन भएको छ । उनले आफ्नो मृत्युको झूटो खबर दिन लगाएको बताइएको छ ।

बेलायतबाट निस्कने द सन पत्रिकाको एक खबरअनुसार, आफ्नो सत्तालाई कमजोर बनाउन खोज्ने गद्दार को हो भनी पत्ता लगाउनका लागि किमले मृत्युको खबर फैलाएका हुन् । यो उनको फगत नाटक थियो ।

किमलाई सत्ताच्युत गर्न वरिपरिकै मानिसले षड्यन्त्र बुनिरहेको खबर पाएपछि आफू मरेको हल्ला फिँजाउने अनि को खुशी हुन्छ भनी हेर्ने उनको उद्देश्य रहेको खबरमा उल्लेख गरिएको छ ।

द सनले पनि अस्ट्रेलियाको स्काई टेलिभिजनमा प्रसारण गरिएको समाचारलाई उद्धृत गरेको हो । उक्त टीभीको स्काई आउटसाइडर्स कार्यक्रममा प्रस्तोता जेम्स मोरोले सोभियत रुसका नेता जोसेफ स्टालिनकै तरिका अपनाएर आफ्नो मृत्युको खबरलाई जनताले कसरी लिन्छन् भनी किमले हेर्न खोजेका हुन् भने ।

अब उनले मानिसहरूको प्रतिक्रियाको आधारमा षड्यन्त्रकारीको पहिचान गर्ने र तिनलाई सफाया गर्ने अभियान थाल्ने मोरोको भनाइ छ ।

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका पूर्व राजदूत थाए होङ–योले किम गम्भीर बिरामी भएको वा मरेको भनी गरेको अनुमान झूटो भएको छ र उनको विश्वसनीयतामा प्रश्न उठेको छ । झूटो अनुमान गरेकोमा उनले माफी समेत मागिसकेका छन् ।

त्यसो त किम २० दिनपछि सार्वजनिक हुँदा पनि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले कुनै खबर दिएको थिएन ।

आफ्नो अनुपस्थितिमा देशका अन्य नेताले कसरी काम गर्छन् भनी हेर्नु पनि किमको उद्देश्य रहेको थियो । अब उनले गद्दारहरूको सफाया गर्ने सम्भावना छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ