लेख स्वास्थ्य

कोरोना संक्रमित नर्स भन्छिन्- ‘सुरक्षा र उत्प्रेरणा दिनुस्, कामबाट पछि हट्दैनौं’

“घरपरिवार, आफू केही नभनी जीवन नै माया मारेर खटिएका छौं। हामीलाई पनि त्यही अनुसारको उर्जा चाहिँ चाहिन्छ।”

मेरो घर मोरङको विराटचोक हो। १० वर्ष भन्दा बढी भयो धनकुटा जिल्ला अस्पतालमा काम गर्न थालेको। स्टाफ नर्स हुँ म। अहिले अस्पतालको बहिरङ्ग विभागको इन्चार्ज पनि।

कोभिड–१९ को महामारीबीच काममा खटिँदा खटिँदै ममा पनि कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ। ४ जेठमा संक्रमण भएको पुष्टि भएको हो।

त्यसपछि ८३ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो। त्यसमध्ये ६ जनाको पोजिटिभ देखियो। त्यसमध्ये मेरा सहकर्मी एकजना नर्स र दुईजना हेल्थ असिष्टेन्ट हुनुहुन्छ। हामी चारैजना विराटनगरको कोशी अस्पतालमा भर्ना भएका छौं।

मलाई समुदायबाटै संक्रमण भयो जस्तो लाग्छ। जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीहरूले पनि जाँच गर्नुपर्छ, काम गर्दै जाँदा संक्रमण भएको हुनसक्छ भन्ने कुरा उठ्यो। स्क्रिनिङ गर्ने क्रममा ‘म पनि गर्छु नि त’ भनेर स्याम्पल दिएँ। रिपोर्टमा पोजिटिभ आयो।

हामी त यो पेशामा छिर्दै जस्तोसुकै अवस्थामा पनि काम गर्नुपर्छ भन्‍ने बुझेरै आएका हौं। महामारीको यो बेला सबैको भरोसा हामीमाथि नै छ। त्यो हामीले बुझ्नुपर्छ। हामी कहिल्यै पनि आफ्नो जिम्मेवारीबाट पन्छिनु हुँदैन। र, पन्छिने कुरा पनि आउँदैन।

म ६ महीनादेखि घर (मोरङ) झरेकी छैन। लकडाउन शुरू भएपछि त झन हिँड्ने कुरै भएन।

संक्रमण भनेको बिरामी या बिरामीको कुरुवामार्फत् नै आउनुपर्ने हाम्रो बुझाई हो। मलाई पोजिटिभ देखिएपछि त्यहाँ अरुको पनि जाँच गर्ने क्रममा ६ जनामा देखिएको छ। तीमध्ये अस्पतालमै काम गर्ने अर्को एकजना नर्सिङ स्टाफ हुनुहुन्छ। अरु दुईजना एचए हुनुहुन्छ।

हामीमा कुनै पनि लक्षण देखिएको छैन। अस्पताल बसाई सहजै छ। हामीलाई त ‘रेस्ट’ गरेजत्तिकै भएको छ। बरु ड्यूटीमा हुँदा व्यस्त भइन्थ्यो।

हामी उल्टै यहाँ आइसोलेसनमा भर्ना भएकाहरूलाई आत्मबल दह्रो बनाउन भनिरहेका छौं। समयमै खाना खान, आराम गर्न उहाँहरूलाई अनुरोध गछौं।

निको हुने कुरामा विश्‍वस्त छौं। चाँडै डिस्चार्ज भएर घर फर्कनेमा ढुक्क छु। गएर फेरि ड्युटी शुरू गर्ने हो। यो बेला झन् हाम्रो भूमिका र जिम्मेवारी महत्वपूर्ण हुन्छ।

हामी त यो पेशामा छिर्दै जस्तोसुकै अवस्थामा पनि काम गर्नुपर्छ भन्‍ने बुझेरै आएका हौं। महामारीको यो बेला सबैको भरोसा हामीमाथि नै छ। त्यो हामीले बुझ्नुपर्छ। हामी कहिल्यै पनि आफ्नो जिम्मेवारीबाट पन्छिनु हुँदैन। र, पन्छिने कुरा पनि आउँदैन।

तर, स्वास्थ्यकर्मीलाई पनि सरकार र समाजले पनि उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाइदिनुपर्छ पर्छ जस्तो लाग्छ मलाई।

अझै पनि हामीलाई सुरक्षा सामग्रीहरू पर्याप्त छैनन्। भएका पीपीई पनि कत्तिको भरपर्दो हो पूर्ण विश्वास छैन। उपचारको ‘प्राक्टिस’ गर्ने क्रममा पनि केही पुगेको छ कि छैन सिकाउनुपर्‍यो।

घरपरिवार, आफू केही नभनी जीवन नै माया मारेर खटिएका छौं। हामीलाई पनि त्यही अनुसारको उर्जा चाहिँ चाहिन्छ। सरकारले लाए अह्राएको काम गर्न तयार छौं।

(कोरोना संक्रमण पोजिटिभ देखिएर विराटनगरको कोशी अस्पतालको आइसोलेसन वार्डमा राखिएकी स्टाफ नर्स शिला सुब्बासँग श्यामकृष्ण दाहालले गरेको कुराकानी। सुब्बाले नै अनुमति दिएपछि हामीले उनको नाम र तस्वीर प्रकाशन गरेका छौं।)

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ