आर्थिक राष्ट्रिय समाचार

कोरोना विरुद्ध लड्न सरकारद्वारा ३ अर्ब ४२ करोड रुपैयाँ बजेट रकमान्तर गरी खर्च

कोरोना भाइरससङ्क्रमण को महामारी विरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ ।

सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा उक्त रकम खर्च गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य जोखिमलाई न्यूनिकरण गर्न चाहिने स्वास्थ्य सामग्री खरिद र जनशक्ति परिचालनका लागि स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको बतानउनुभयो ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले कोरोना विरुद्धको लडाईँमा बजेट अभाव हुन नदिएको बताउनुभएको हो ।

मन्त्री खतिवडाले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा अहिलेसम्म २ अर्ब २० करोड रुपैयाँ जम्मा भएको र उक्त रकम कार्य योजना बनाई राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजनमा सिफारिस भएअनुसार उद्धार र स्वास्थ्य उपचारसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयोग गरिएको बताउनुभयो ।

कोरोना भाइरसको रोकथामका लागि देशभर लकडाउन गरिएको र सीमा नाकाहरु पूर्ण रुपमा बन्द भएकोले राजश्वमा चाप परेकोसमेत मन्त्री खतिवडाले बताउनुभयो ।

भन्सार नाकाबाट मासिक लक्ष्यको एक चौथाई मात्र राजस्व संकलन भएको र भन्सार, मूल्यवृद्धि कर,अन्तशुल्क अशुली सबैमा कमी आउँदा राजस्व संकलनमा चाप परेको उहाँले बताउनुभयो ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि खर्च गर्ने सम्बन्धमा आवस्यक रकम जुटाउन अन्तर्राष्ट्रिय सहायता परिचालनमा करिब डेढ खर्ब रुपैयाँ प्रतिबद्धता पाएको समेत बताउनुभयो ।

यस्तो रकम स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताउनुभयो । लकडाउन लम्बिदै जाँदा सबै क्षेत्रका काम ठप्प भएकाले सरकारको खर्चमा समेत प्रभाव परेको उहाँले बताउनुभयो ।

चैत मसान्तसम्म कुल चालु तर्फको खर्च वार्षिक लक्ष्यमा करिब ५१ प्रतिशत अर्थात ४ खर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ । यस्तै पूँजीगत तर्फ वार्षिक लक्ष्यको करिब २६ प्रतिशत अर्थात १ खर्ब ५ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० प्रतिशत अर्थात ८४ अर्ब खर्च भएको मन्त्री खतिवडाले बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ