अन्तराष्ट्रिय आर्थिक राष्ट्रिय समाचार

‘कुवेतले आममाफी दियो, आफ्नै सरकारले बेवास्ता गर्‍यो’

सरकार के गर्दैछ ? नेपाली राजदूत के भन्छन् ?

थीरमान भुजुङ (नाम परिवर्तन) अहिले कुवेत सरकारले तयार गरेको अस्थायी आश्रयस्थलमा छन् । चार वर्षदेखि अवैधरुपमा बसेका उनी आममाफीको प्रक्रियामा सामेल भएर नेपाल फर्किने सूचीमा समावेश हुन आश्रयस्थलमा पुगेका हुन् ।

भुजुङ ३० अप्रिलमा बन्दोबस्तीका सामानसहितको ‘लगेज’ गुडाएर आश्रयस्थलमा प्रवेश गरे । अहिले उनी एक बास्केटबल कोर्टमा बिछ्याइएको ओछ्यानमा सुत्छन् । त्यहाँ करिब २ सयभन्दा बढी मान्छे छन् । धेरै नेपाली छन् । अरु देशका नागरिक पनि मिसाएर राखिएको छ ।

उनीहरुलाई मेसमा खाना र खाजा खुवाउने प्रवन्ध छ । कुवेत सरकारले आम माफी दिएका धेरै कामदारहरुलाई यसैगरी विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरुमा राखेको छ । यस्ता आश्रयस्थलमा अप्रिल २६ देखि नेपाली कामदारहरु पनि बसिरहेका छन् ।

कुवेतले अप्रिल २६ देखि ३० सम्म आममाफीका लागि आवेदन गर्नसक्ने समय तोकेको थियो । आफूसँग राहदानी नभएका २५ सयभन्दा बढीले नेपाली दूतावासबाट नै ट्राभल डकुमेन्ट बनाएका थिए भने कतिसँग आफ्नो पासपोर्ट सुरक्षित थियो ।

पासपोर्ट हुनेहरु सीधै आश्रयस्थलमा जान सक्ने व्यवस्था भएकाले कति नेपाली आश्रयस्थलहरुमा छन् भन्ने तथ्यांक नेपाली दूतावासँग पनि छैन ।

क्याम्पमा बसिरहेका भुजुङलाई कति दिन त्यसरी चिसो भुँईमा बिछ्याइएको ‘र्फम’ मा सुत्नुपर्ने हो भन्ने चिन्ता छ । भुजुङजस्तै करिब २५ सय देखि ३ हजार नेपालीहरु यस्तै अस्थायी आश्रयस्थलमा दिन काटिरहेका छन् ।

आफ्नै सरकारसँग गुनासो

त्यहाँ रहेका नेपालीहरुलाई कुवेतको सरकारसँग कुनै गुनासो छैन । दुखेसो छ त आफ्नै सरकारसँग । ‘हामी दुःख पाएर अवैध बन्यौं, कुवेतले त वैध बनाएर नेपालमै आफ्नै खर्चमा लगेर छोडि्दन्छु भनेकै छ,’ क्याम्पमा रहेका भुजुङ भन्छन्, ‘ तर, हामीलाई त कुवेतमा नै नेपालको सरकारले जेल हालेजस्तो भयो ।’

अहिले कुवेतमा अस्थायी आश्रयस्थलमा रहेका नेपालीहरु सरकारबाट नेपाल फर्किने अनुमति कुरिरहेका छन् । उनीहरु आममाफी प्रक्रियामा सहभागी भएका अवैध हैसियतका कामदार भएकाले नेपालले फिर्ता लैजान कुवतेले दिएको दबाव टार्न पनि सकेको छैन ।

कुवेतले विना कैद तथा जरिवाना गैरकानुनी हैसियतका कामदारका लागि आममाफी दिएको छ उनीहरुलाई । काठमाडौंको एयरपोर्टसम्म आफ्नै जहाजमा राखेर पुर्‍याइदिन पनि तयार छ । तर, अहिले नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध छ । विदेशबाट कोही पनि नेपाली स्वदेश आउन पाउँदैनन् ।

‘क्याम्पभित्र एकैस्थानमा थुप्रै कामदार राखिएकाले हामी समाजिक दूरी कायम गरेर बस्न सक्ने अवस्था छैन, त्यसैले यो पनि एक किसिमको जेल नै हो,’ आश्रय स्थलमा रहेका एक कामदारले भन्छन्,’यहाँको फोटो भिडियो सामाजिक सञ्जालमा नहाल्न भनिएको छ, यहाँको व्यवस्थापनको विरोध गर्नेलाई कारबाही गर्ने भनिएको छ । त्यसैले नेपाल सरकारले हामीलाई तुरुन्तै नेपाल फर्किन देओस् ।’

सरकारले निर्णय गर्न ढिलाई गर्दा कुवेतका आश्रयस्थलमा बच्चा बोकेर पुगेका महिलाहरु सबैभन्दा बढी पीडित छन् । १ महिना पुग्नै बाँकी शिशु च्यापेर पनि आश्रयस्थलमा एक महिला पुगेकी छिन् । अरु करिब १० जनाभन्दा बढी महिला बालबच्चाहित आश्रयस्थलमा छन् ।

आश्रयस्थलमा संक्रमण फैलिने डर पनि कामदारहरुलाई छ । कुवेतमा मे ३ सम्म ८४ नेपालीलाई कोरोना संक्रमणका भएको जानकारी दिएको कुवेतका लागि नेपाली राजदूत राजदूत भण्डारीले जानकारी दिए । उनका अनुसार अहिले कुवेतले बिरामीको राष्ट्रिय खुलाउन बन्द गरेको छ । यसका कारण नेपाली संक्रमितको संख्या बढेको/नबढेको जानकारी छैन ।

कुवेतमा कामदारको समस्या क्याम्पभित्र मात्र सीमित छैन । वैध काम गरिरहेका कामदारहरुले पनि कम्पनीहरुको मनलाग्दी कामदार कटौतीले गर्दा विभिन्न समस्या भोगिरहेका छन् ।

कतिपयलाई कम्पनीले बेतलवी विदा दिन थालेको छ । कतिपयले काम गरेपछि तलब पाउन सकिरहेकका छैनन् । उद्योग व्यवसाय नचलेको भन्दै उद्योगीहरुले सेवा सुविधा पनि कटौती गर्न थालेको गुनासो आउन थालेको राजदूत भण्डारीले अनलाइनखबरलाई जानकारी दिए ।

आश्रयस्थलमा रहेका नेपालीले जतिसक्दो छिटो नेपाल फर्काउने प्रवन्ध गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरूले आश्रयस्थलमा बस्न सकस हुने अवस्था रहेको भन्दै कुवेतबाट उद्धारका लागि हवाई मार्ग खोल्नसमेत माग गरेका हुन् ।

के गर्दै छ सरकार ?

नेपाल सरकारले भने अहिलेसम्म उनीहरु ल्याएर राख्ने क्वारेन्टाइन लगायतका प्रवन्ध गरिसकेको छैन । तयारी थालिएको जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले दिएका छन् । तर, उनीहरुलाई कहिलेसम्म आउन दिने र आएपछि कसरी व्यवस्थापन गर्ने भनेर कुनै ठोस नीतिगत निर्णय भएको छैन ।

आश्रयस्थलमा रहेका कामदारलाई फिर्ता ल्याउन दिने’bout छलफल थालिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ बताउँछन् ।

‘हामीले फिर्ता ल्याउने प्रवन्ध कसरी गर्ने भनेर पहल थालेका छौँ, कामदारलाई टिकट कुवेतले नै दिने भएकाले क्वारेन्टाइनको व्यवस्थापनको मूल सवाल छ,’ उनी भन्छन्,’ के गर्ने भनेर छलफलमै छौं, हामीले व्यवस्थापनको योजना’bout एउटा प्रतिवेदन श्रम मन्त्रालयलाई बुझाएका छौं ।’

बोर्डका अनुसार कुवेतमा अहिले करिब ५० हजार नेपाली कामदार कार्यरत छन् । त्यसमध्ये करिब ९ हजारले आममाफी पाएका छन् । भिसाको म्याद सकिएर पनि कुवेतमै बसिरहेकाले पन तिुरुन्तै फर्किने माग गरेका छन् ।

कुवेतबाट करिब १५ हजार नेपालीले कोरोनाकका कारण रोजगारी गुमाउन सक्ने विश्लेषण गरिएको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ