अन्तराष्ट्रिय आर्थिक समाचार

कुकुरको खाजाका लागि अमेरिका निर्यात हुने छुर्पीको निकासी ठप्प

लकडाउनका कारण पूर्वी नेपालबाट अमेरिकासहित विभिन्न १४ मुलुकमा निर्यात हुने छुर्पीको निकासी ठप्प भएको छ । छुर्पी निकासी रोकिएसँगै प्रदेश १ मा रहेका साना ठूला गरी ९०० उद्योगहरु प्रभावित भएका छन् ।

पूर्वी नेपालको पहाडी क्षेत्रबाट वार्षिक ९० करोडको छुर्पी ‘डग च्यू’को रुपमा तेस्रो मुलुकमा निकासी हुँदै आएको थियो । तर, लकडाउनका कारण अहिले अधिकांस छुर्पी उद्योग बन्द रहेका छन् भने संचालनमा रहेका उद्योगले पनि उत्पादन भण्डार गर्नु पर्ने बाध्यता रहेको छ । तयारी अवस्थामा रहेको छुर्पीसमेत नेपालबाट निकासी हुन सकेको छैन ।

प्रदेश १ का पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायत पूर्वी पहाडी जिल्लामा छुर्पी उत्पादन हुँदै आएको छ ।

त्यहाँ उत्पादित दूधको छुर्पी कुकुर र बिरालोको खाजाको रुपमा अमेरिका, क्यानडा, युरोप, जापान, कोरियालगायतका १४ देशमा बिक्री निर्यात हुँदै आएको थियो ।
सबैभन्दा बढी इलाममा मात्र ५९० छुर्पी उद्योग छन । अन्य जिल्लामा समेत गरी साना ठूला करिब ९०० उद्योग रहेका छन ।

फिक्कल डेरी उद्योगका संचालक दिनेश महतले गत वर्ष २६ हजार किलो छुर्पी राजधानीको मनराम हिमालय हेण्डीक्राफ्टमार्फत अमेरिका, जापान र कोरिया पठाएका थिए ।

गत वर्ष उनले दुई करोड ३४ लाखको छुर्पी बिक्री गरेका थिए । यो वर्ष कोरोना भाइरसको कारण विश्वनै आक्रान्त बनेपछि छुर्पीको अर्डर नआएकाले उद्योगमा उत्पादित ठूलो परिमाणको छुर्पी थन्किएको उनले बताए ।

राजधानीका हिमालयन डक च्यूबाट पूर्वी नेपालमा उत्पादित छुर्पी तेश्रो मुलुक निकासी हुँदै आएको छ ।

इलामको पूर्वी सन्दकपुर गाउँपालिकाका दुध किसान खेम भट्टराईले गत वर्ष ९०० रुपैयाँ किलोका दरले २४ हजार किलो छुर्पी अमेरिका लगायतका मुलुक पठाएर दुई करोड १६ लाख आम्दानी गरेका थिए । तर यो वर्ष छुर्पी पठाउने सिजनमा कोरोनाका कारण उनको ब्यापार चौपट भएको छ ।

व्यवसायी भट्टराईले आफ्नो उद्योगसँगै अन्य ३५ वटा साना उद्योगबाट खरिद गरेको छुर्पी गोदाममा थन्किएको छ । ‘कोरोना संक्रमणका कारण विश्व नै लक डाउनकामा छ,’ उनले भने, ‘विदेश निर्यातका लागि संकलन गरेको सबै छुर्पी गोदाममा थकिएको छ । ‘

इलामका धेरै किसानले गाईको दूधबाट छुर्पी उत्पादन गरेर बिक्री गर्दै आएका छन् । इलामकै सेतो पहाड डेरी उद्योगले गत वर्ष ६० हजार किलो छुर्पी युरोपलगायतका मुलुकमा पठाएको थियो ।

डेरी संचालक मिलन खत्रीले ५ करोड ४० लाख बराबरको छुर्पी त्पादन गरी विदेशी बजारमा पठाएको बताए । तर यो वर्ष लकडाउनका कारण पूर्ण क्षमताभन्दा ५० प्रतिशत घटाएर छुर्पी उत्पादन गरिरहेको उनले बताए । उनले भने, ‘लक डाउनको कारण अबको बजार कस्तो हुने भन्ने चिन्ता रहे पनि छुर्पी उत्पादन गरेर भण्डारण गरिरहेको छु ।’

यता धनकुटा सिधुवाका काशिनाथ निरौलाले सँचालन गरेको माउण्ट मकालुु दुुग्ध परिकार उद्योगको निकासीका लागि ठिक्क पारेका १ करोड ३० लाखको छुर्पी स्टक छ ।
यस भेगका सयौँ किसानहरुमापनि उनकै जस्तो एउटै समस्याले पिरोलिन गरेका छन् । उनीसँगै आश्रति सयौं किसान पनि त्यसको प्रत्यक्ष मारमा छन ।

यस क्षेत्रमा पनि धेरै किसानले ब्यावसायीक रुपमा छुर्पी उत्पादन गरी बिक्री गर्दै आएका थिए ।

एक दशकदेखि नेपाली छुर्पी अमेरिका, युरोपलगायतका मुलुकमा पठाउदै आएका काठमाडौंको मनराम हिमालयन ह्यान्डी क्राफ्टका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठ लक डाउनको कारण भण्डारण गरिएको छुर्पी सुकाउन र प्रोसेसिङ गर्न समस्या भइरहेको बताउँछन् ।

लक डाउनको कारण अहिले अन्तर्राष्ट्रिय बजारमा छुर्पी पठाउन नसकिएको ब्यावसायी श्रेष्ठले बताए ।

उनले वार्षिक दुई लाख ५० हजार केजी छुर्पी अमेरिका पठाउँदै आएका छन् । अमेरिकाबाट अन्य मुलुकमा समेत नेपाली उत्पादनको छुर्पी जाने गरेको श्रेष्ठको भनाइ छ ।

किसानको मूल्यका आधारमा उनले वार्षिक २२ करोड ५० लाख मूल्यको छुर्पी अमेरिका पठाउँदै आएका छन् ।

व्यवसायी श्रेष्ठका अनुसार अहिले अमेरिकामा समेत हिमालयन ‘डक च्यू’ नामक र्फम खोलेर उनका भाइ सुमन श्रेष्ठले अमेरिकामै छुर्पी उत्पादन सुरु गरेका छन् ।

नेपालको उत्पादन अमेरिका पठाउँदा विभिन्न समस्याहरु भोग्नु पर्ने भएकाले अमेरिकामानै र्फम खोलेर तीन लाख किलो छुर्पी वार्षिक उत्पादन गर्न थालेको उनले बताए ।

बढ्दो निकासी

ब्यापार तथा निकासी प्रर्वधन केन्द्रका बरिष्ठ अधिकृत कृष्ण बजगाईका अनुसार यो चालु आर्थिक वर्षको नौ महिना अर्थात लक डाउन हुन पूर्वसम्म ८९ करोड २१ लाख ५१ हजार मूल्य बराबरको ५३ करोड ५५ लाख ८५ हजार किलो छुर्पी निकासी भएको छ ।

त्यसमा सबैभन्दा बढी अमेरिकामा ७६ करोड ३७ लाख ६१ हजार रुपैयाको ४६ करोड ४७ लाख ८६ हजार किलो छुर्पी निकासी भएको छ । नेपालका लागि अमेरिका छुर्पीको सबैभन्दा ठूलो बजार हो ।

त्यसै गरी क्यानडा चार करोड १९ लाख ५३ हजार, चीनमा तीन लाख, हङकङ १८ लाख ४२ हजार, जापान एक करोड ४७ लाख ४ हजार दक्षिण कोरिया २२ हजार दुई सय, त्यस्तै नेदरल्याण्ड ३५ लाख ७८ हजार, सेरालियोन पाँच लाख ४० हजार किलो छुर्पी निकासी भएको छ ।

त्यसैगरी सिंगापुर २७ लाख ३४ हजार, ताईवान २७ लाख ८६ हजार, थाइल्याण्ड ५ लाख ७५ हजार, यूएई चार लाख ३३ हजार, बेलायत ५२ लाख ७८ हजार र भिएतनाम ८५ हजार किलो गत नौं महिनामा छुर्पी निकासी भएको छ ।

सन् २०१४/२०१५ मा २ लाख ७५ हजार ९ सय ७५ किलो, सन् २०१५/२०१६ मा तीन लाख १६ हजार छ सय २८, सन् २०१६/२०१७ मा तीन लाख ७६ हजार ९९४ किलोग्राम, सन् २०१७/२०१८ मा ५ लाख ७६ हजार २६१ किलो र सन् २०१८/२०१९ मा छ लाख ३६ हजार ३४० किलोग्राम छुर्पी १४ वटा देशमा निकासी भएको थियो ।

सन् २०१४ देखि २०१९ सम्म तीन अर्ब १६ करोड ९६ लाख ३९ हजार बराबरको छुर्पी निकासी भएको तथ्यांक छ ।

कसरी बनाइन्छ ‘डग च्यु’ ?

‘डग च्यू’एक प्रकारको छुर्पी नै हो । जुन तपाईं हामीले खाने छुर्पी भन्दा अलिक फकर हुन्छ । डग च्यूमा चिल्लोको मात्रा शून्य हुनु पर्छ । तर मानिसले खाने छुर्पीमा चिल्लोको मात्रा हुन्छ ।

‘कुकरलाई घ्यू पच्दैन’ भन्ने उखान जस्तै साँच्ची नै कुकुरले घ्यू नपचाउने भएकाले छुर्पी बनाउन त्यसमा घ्यूको मात्रा पूर्णरुपमा अलग गरिन्छ ।

बिरालो र कुकुरको आहारको रूपमा अमेरिकालगायत युरोपेली मुलुकमा निकासी हुने छुर्पी बनाउँदा दूधलाई फटाएर विभिन्न प्रक्रियाहरू पूरा गर्दै बनाउनुपर्ने इलाम सन्दकपुरका खेम भट्टराईले बताए ।

उनका अनुसार दूध फटाएर तयार पारेको छेनालाई २४ घण्टासम्म गह्रौ वस्तुले किचेर राख्नुपर्छ । त्यसपछि सुरुमा यसलाई हावा मात्रै लाग्ने र चिसो ठाउमा राख्नुपर्छ र क्रमश तातोमा सार्दै लानुपर्छ ।

छुर्पी बनाउने पक्रीया पछि त्यसलाई सुकाउन धुवाँ लगाउनु पर्छ । धुवाँ लाग्ने ठाउँ अथवा तलामुनि आगो फुकिन्छ र टाँडमाथि छुर्पी राखेर सुकाउने गरेको उनले बताए ।

धुवाँ लागेको छुर्पी कुकरले बढी मन पराउछ । यसरी एक महिना लगाएर छुर्पी सुकाइन्छ ।

छुर्पी सुकेपछि संकलनकर्ता मार्फत राजधानीका र्फमहरुलाई बिक्री गरिन्छ ।

युरोप, अमेरिका, क्यानडा, जापान लगायतका देशमा कुकर पाल्न सौखिनहरुले कुकुरलाई हड्डी वा अन्य कृतिम वस्तुको सट्टामा फ्याट बिनाको छुर्पी दिने गर्छन् ।

हड्डी टोक्दा कुकुरलाई मुखमा घाउ हुने र विभिन्न समस्या हुने भएकाले दाँतको कसरतका लागि छुर्पी दिने गरेका हुन ।

चपाउन मिल्ने साथै कुकुरले खाजाको रुपमा पनि खाने भएकाले नेपालको छुर्पी ‘डग च्यू’को रुपमा माग हुने गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ