आर्थिक राजनीती समाचार

कामपाको पहलमा एक लाखलाई खाना ८० हजार बढीलाई राहत

लकडाउनमा काठमाडौं महानगरपालिकाले ८१ हजार व्यक्तिहरुलाई राहत वितरण गरेको छ। एक लाखको हाराहारीलाई खाना खुवाएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई राहत वितरण तथा खाना खुवाउनेलगायत अन्य प्रयास गरिरहेको बताए।

‘महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस् भनेर राहत वितरणसँगै खाना खुवाउने कामलाई पनि निरन्तरता दिँदै आएका छौँ’ प्रमुख शाक्यले भने। कतिपय स्थानमा प्रमुख शाक्य आफैँ पनि अनुगमनका लागि पुग्ने गरेका छन्।

केही दिनअघि निरीक्षणका लागि चमती पुगेका प्रमुख शाक्यले जनतासँगै बसेर खाना खाएका थिए। काठमाडौं महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा–१५ का अध्यक्ष ईश्वरमान डंगोलले पनि आफ्नो वडामा दैनिक १६ सयको हाराहारीलाई एक छाक खानाको व्यवस्था गरेको जानकारी दिए।

वडाकै नेतृत्वमा धादिङ, मकवानपुर लगायतका स्थानका किसानबाट तरकारी ल्याएर उपभोक्तासमम पुर्‍याउने काम भइरहेको पनि उनले सुनाए। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा पनि महानगरपालिकाका विभिन्न स्थानमा सामूहिक मेस नै सञ्चालनमा रहेको छ।

महानगरको वडा १६ अन्तर्गत बाइपासको तरुण मावि, गंगाहलनजिक होलीगार्डेन स्कुलसँगै, बाइसधारा स्विमिङ पुलको पछाडि बिहान बेलुकी खाना खुवाउने गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ