राष्ट्रिय समाचार

काठमाडौं उपत्यकामा सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू, अब यसरी चल्छन् सवारी

आइतबारबाट काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनहरु सञ्चालनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । सरकारले अत्यावश्यकीय क्षेत्रहरु सञ्चालन गर्ने निर्णय गरेसँगै आइतबारबाट सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको हो । सरकारी तथा वित्तिय क्षेत्र सञ्चालन गर्न दिने निर्णय सरकारले गरेपछि सवारीलाई व्यवस्थापन गर्न ‘टाइमकार्ड’ प्रणाली जारी गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले सरकारी सेवा, बैंक तथा वित्तिय क्षेत्र, निर्माण क्षेत्र अत्यावश्यक सामान बोक्ने सवारीहरु व्यवस्थापनका लागि ‘टाइमकार्ड’ प्रणाली लागू भएको जानकारी दिए । ढकालकाअनुसार सरकारी कार्यालयका सवारी विहान ९ देखि साढे १० बजेसम्म कार्यालय गइसक्नुपर्ने र साँझ ५ देखि ६ बजेसम्म फर्किसक्नुपर्ने नियम लागू भएको छ ।

यस्तै बैंक तथा वित्तिय क्षेत्रका व्यक्तिहरुले दिउँसो ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने र अन्य अत्यावश्यकीय सामान ढुवानी गर्ने सवारीहरुले बिहान १० बजेभित्र गरिसक्नुपर्ने नियम लागू भएको उनले बताए । निर्माण क्षेत्रका सवारीहरुलाई राती ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको उनले बताए । प्रमुख ढकालले पासबाहक सवारी चालकलाई पासको दुरुपयोग नगर्न आग्रह गरेका छन् । पासको दुरुपयोग भएको पाइएमा पास थुत्ने र गाडी होल्न गरिने उनले बताए । विभिन्न उद्योग तथा प्रतिष्ठानले सम्बन्धित नियामक निकायबाट आधिकारिक पत्र लिएर मात्रै सवारी सञ्चालन गर्नुपर्ने उनले बताउनुभयो । अत्यावश्यक क्षेत्रका सवारी सञ्चालन भएसँगै उपत्यकामा सवारीको चाप बढेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ