अन्तराष्ट्रिय शिक्षा समाचार

कसरी हवात्तै बढे अस्ट्रेलियामा नेपाली विद्यार्थी?

सन् ९० को दशकमा यदाकदा छात्रवृति पाएर उच्च अध्ययनमा आएका नेपाली विद्यार्थीहरुले अस्ट्रेलियालाई गतिलो शैक्षिक गन्तब्यका रुपमा पहिचान गराएको इतिहास पाइन्छ।

९० को अन्ततिर छिटपुट गर्दै मौकाको खोजीमा केही विद्यार्थी अस्ट्रेलिया आउन थालेपछि नेपाल र नेपाली विद्यार्थीको लागि कालान्तरमा यो एउटा गतिलो शैक्षिक केन्द्र बन्न पुग्‍यो।

त्यति मात्र होइन ९० कै दशकमा युरोपतीर छिरेका नेपालीहरु मौकाको खोजी गर्दै अस्ट्रेलिया आउन थालेपछि आकर्षक दामसँगै आफन्तहरु भित्राउने काम सुरू भएको अस्ट्रेलिया आगमनको इतिहासले देखाउँछ।

यतिखेर करिब सत्तरी हजार नेपाली विद्यार्थीहरु अस्ट्रेलियामा अध्यनरत रहेको अध्यागमन विभागको तथ्यांक छ।

सन् २००० मा एक हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा रहेकोमा दुई दशकमा त्यसमा सत्तरी गुणाले वृद्धि भएको छ।

अध्यागमनको तथ्यांक हेर्ने हो भने अस्ट्रेलिया आउने नेपालीको संख्या पाँच हजार भन्दा कम छ।

तर, सन २००६ र २००८ को बिचमा यो हवात्तै बढेको देखिन्छ।

यो दुई वर्षको अवधिमा करिब पन्ध्र हजार नेपाली विद्यार्थी विभिन्न तहको उच्च शिक्षा लिन अस्ट्रेलिया आएपछि यो नेपालीभाषीहरुको परिचित थलो बन्न थालेको एनआरएन अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङ बताउँछन्।

सन् २००० तीर नेपाली बाटोमा नेपाली भेटिएर कुरा गर्दा खुसीको कुरा हुने गरेको अनुभव नन्द गुरुङसँग छ।

सन २००६ देखि २००८ सम्ममा भेट कलेजहरुले धमाधम भर्ना दिएपछि नेपालबाट अस्ट्रेलिया आउने लहर नै चल्‍यो।

त्यो नेपालीहरुको अस्ट्रेलिया प्रवेशको महत्वपुर्ण घटनाक्रम भएको बताइन्छ।

यसरी दुई वर्ष भित्र नै करिब १६ हजार नेपाली विद्यार्थी भित्र्याएको अस्ट्रेलियाले त्यसपछिका दिनमा भने पुनः केही कडाइ गरेका देखिन्छ।

त्यसपछि नेपाली विद्यार्थीको आगमन निकै कमजोर रहेको तथ्यांकले देखाउँछन।

केही खुकुलो र सजिलो नीति नियम र सस्तो कलेजहरुको सजिलो अफरले त्यसबेला धेरै संख्यामा अस्ट्रेलिया पुग्न पाए।

धेरैका लागि युरोप-अमेरिकाको विकल्प बन्न थाल्यो।

सन् २००९ देखि २०१५ सम्म अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुको प्रवेश मध्यम अवस्थामा देखिन्छ।

त्यति बेलाको प्रवेशको परिधि हेर्ने हो भने नेपाली विध्यार्थीहरुले उच्च शिक्षामा जोड दिएको देखिन्छ।

विश्वविद्यालय र उनीहरूसँग सम्बन्धन प्राप्त उच्च शिक्षाका कलेजहरुमा नेपाली विद्यार्थीहरुको आवद्धतामा जोड दिएको बेला संख्यात्मक रुपमा भने केही कमी आएको सरकारी तथ्यांकले देखाएको छ।

सन् २०१६ सम्म पनि ३० हजारको संख्यामा सिमित रहेको नेपाली विद्यार्थी त्यसपछिका ३ वर्षमा ४० हजार थपिनुमा यहाँका शिक्षाविद्हरुका लागि चासोको विषय बनेको छ।

सन् २०१६ पछि अस्ट्रेलियाले आफ्नो शिक्षा नीतीमा केहि लचकता ल्याएर भेट कोर्सहरुलाई बढि महत्व दिदाँ नेपाली विद्यार्थीहरुलाई आगमनमा सहज बनेको पछिल्लो भिडभाडले संकेत गरेको छ।

नेपालबाट देखिने सुन्दर समुन्द्री किनार, गगनचुम्बी घर, ठूल्ठूला विश्वविद्यालय र डलरको मुल्य मात्र अस्ट्रेलियाका विशेषता होइन।

यहाँको शिक्षाको पनि फरक र अलग विशेषता छ।

कैयन विश्व प्रशिद्ध विश्वविद्यालय र गुणात्मक शिक्षासँगै केही सानातिना एलीकोर्स अनि प्राविधिक र भेट कलेजहरुको भिडभाड पनि यही देखिन्छन ।

सन् २०१६ देखि २०१९ सम्म उकालो लागेको नेपाली विद्यार्थीहरुको ग्राफलाई नियाल्ने हो भने ३५ हजारको हाराहारीमा नेपाली विद्यार्थी उच्च शिक्षा र विश्वविद्यालयमा अध्यनरत देखिन्छन् भने ३० हजार नेपाली विद्यार्थी भेट कोर्समा अध्यनरत रहेका छन्।

अन्य नेपाली विद्यार्थी एलीको कोर्स र नन अवार्डमा रहेको तथ्यांकले देखाएको छ । यसरी नेपालवाट उच्च अध्यनमा आउने विद्यार्थीको संख्यामा यसरी हवात्तै वृद्धि हुनुको कारण खोज्ने हो भने यहाँको शैक्षिक पद्धतिका ’boutमा पनि जान्नुपर्ने हुन्छ।

विश्वविद्यालय र यससँग सम्बन्धन प्राप्त कलेजहरुमा स्नातक र स्नाकोत्तरको पढाइ हुछदैजाँदा प्राविधिक शिक्षा अर्थात भेट कलेजहरुमा डिप्लोमा र एडभान्स डिप्लोमाका बिषयहरु पढाइ हुन्छन्। जुन उच्च शिक्षाका लागि अस्ट्रेलियामा सहायक मानिन्छ।

थुप्रै राम्रा भेट कलेजहरु पनि छन, जसमा पढ्नेहरुले राम्रो अवसर अनि शिक्षा पाएका छन्।

केही शिक्षा मात्र नभई कमिशन र व्यापारका लागि खोलिएका कलेजहरु पनि छन् जसले विध्यार्थीहरुको भविष्यका लागि राम्रो बाटो देखाउँन सक्दैनन्।

चालिस प्रतिशतसम्म कमिशन दिने कलेजले कसरी विद्यार्थीलाई राम्रो शिक्षा दिन कसरी सक्छन्? काउन्सिल फर इन्टरनेशनल स्टुडेन्ट्स अस्ट्रेलियाका पुर्व अध्यक्ष विजय सापकोटाको प्रश्न छ।

सरकारी शिक्षा नीतिमा रहेका कमी कमजोरीको फाइदा उठाउँदै केही कलेजहरुले बदमासी गरेको देखिएको छ ,जसका कारण कयौं नेपाली विध्यार्थीहरुले दुःख पाएको उदाहरण रहेको सापकोटाले बताए।

सन् २०१९ मा मात्र दुइ सय भेट कलेजलाई बदमासी गरेका कारण सरकारी शैक्षिक निकायले रद्द गरेको थियो ।

विदेशी शिक्षाको विज्ञता हासिल गर्ने र सल्लाह दिने शैक्षिक परामर्शदाता साँच्चिकै सम्मानित र मर्यादित पेसा हो तर कहिलेकाँही केही गलत विषयहरुले यस पेशामा समेत प्रश्नचिन्ह उठने गरेको छ।

विदेशको शिक्षा पद्धति र पहुँच बनाएर विद्यार्थीलाई उचित सल्लाह सुझाव दिने पेसा आफैमा सम्मानित हो। तर केही गलत सुचना प्रवाह र कमिसनको प्रलोभनका कारण दुई-चार जनाको बदमासीले धेरैलाई औला उठाउने बाटो बनाएको विजयले सुनाए।

विध्यार्थी र अभिभावकमा पनि कमीकमजोरी रहेको र पढ्न आउनु अघि बुझ्न आवश्यक रहेको सापकोटाको भनाइ छ।

विदेश जाने नाममा अन्धाधुन्ध प्रवेश आफैमा राम्रो विषय नभएको एनआरएन अस्ट्रेलियाका महासचिव डाक्टर ज्ञानेन्द्र रेग्मी बताउँछन। के पढ्न जाने? भविष्यमा पढाइको प्रतिफल र भविष्यको योजनाबिना वैदेशिक अध्ययनको नाममा तँछाडमछाडले गलत परिणाम दिन सक्ने रेग्मीको भनाइ छ।

विदेशमा जानु, उच्च शिक्षा लिनु र उचित मौकाको सदुपयोग गरेर भबिष्य निमार्ण गर्नु हरेक नेपालीको लागि महत्वपूर्ण भएकोले संसारमा बिक्न सक्ने योग्यताको खोजी गर्नु अहिलेको आवश्यकता रहेको रेग्मीले बताए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ