आर्थिक राष्ट्रिय समाचार

एकैपटक १० लाख युवा फर्कँदा स्थिति भयावह बन्छ, सरकारकाे तयारी शून्य

लकडाउन खुलेलगत्तै विदेशमा रहेका १० लाख युवाहरु नेपाल फर्कने भएकोले सरकारले केही तयारी नगरेमा स्थीति भयाबह हुने आंकलन गर्न थालिएको छ ।

रोजगारीका लागि विदेशमा रहेका करिब ४५ लाख युवाहरुमध्ये १० लाख भर्खर पनि आउन चाहेको आंकलन यस क्षेत्रमा काम गर्नेहरुले गरेका हुन् ।

‘नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानको अनुमति दिएको अवस्था वा चार्टर गरेर भएपनि नेपाल आउन पाएमा आफ्नै खर्चमा नेपाल आउन चाहनेहरुको सङ्ख्या धेरै छ’, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष पुष्कर आचार्यले भने ‘त्यसकारण लकडाउन खुलेलगत्तै आउने उनीहरुलाई तत्काल क्वारेन्टाइनमा राखी व्यवस्थापन गर्ने र पछि रोजगारी सिर्जना गर्ने कुरामा पनि सरकारले काम गर्नुपर्ने हुन्छ, राम्रोसँग व्यवस्थापन नगरे स्थिति बिग्रन पनि सक्छ ।’

मजदुर नेता आचार्यले यदि स्वदेशमै रोजगारी गुमाएका र विदेशबाट फर्केकाहरुलाई सरकारले निश्चित समयभित्रै रोजगारी उपलब्ध गराउन नसके स्थिति बिग्रने बताए ।

उनले भने, ‘विदेशबाट आउनेहरुको सीप र क्षमतालाई कृषि लगायत क्षेत्रमा रोजगारीमा लगाउनुपर्छ र त्यसका लागि सरकारले बाटो बनाउनुपर्छ । ’cause उनीहरुका लागि अवसरको सिर्जना नगर्ने हो भने मुलुक अत्यन्त ठूलो समस्यामा पर्नेछ, रोजगारी प्राप्त नभएर राज्य–विप्लव को अवस्था पनि आउन सक्छ । रोगभन्दा भोक ठूलो कुरा भएकाले रोजगारीको सुरुवात गराउनै पर्छ, नत्र स्थिति बिग्रन पनि सक्नेछ । यसतर्फ हामी सचेत हुनैपर्छ ।’

लकडाउनका कारण सबैभन्दा प्रभावित पर्यटन, उद्योग र दैनिक ज्याला मजदुरी गर्नेहरु रहेको भन्दै उनीहरुलाई अब तत्कालका लागि कृषिमा जोड्न सकिने आचार्यले बताए ।

उनले भने, ‘पर्यटनक्षेत्रमा काम गरिरहेका मजदुरहरुलाई अब कसरी अगाडि बढाउने भनेर पनि ध्यान दिनुपर्छ । यसको एउटा उपाय भनेको आन्तरिक पर्यटन पनि हुनसक्छ । निजी क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मी, उद्योगधन्दा कलकारखाना लगायत अन्य क्षेत्रमा रोजगारी गुमाउनेहरुको सङ्ख्या बढिरहेको छ ।

जिडिपीको योगदान रेमिटेन्सबाट बढी थियो । तर विदेशमा पनि रोजगारीमा कमी आउने भएपछि विदेशबाट फर्कने उनीहरुलाई अब कृषिमा क्षेत्रमा रोजगारी सिर्जना गरी काम दिलाउनुपर्छ । मलेसिया लगायतका देशमा अत्यन्तै न्युन तलबमानमा पनि मलेसिया लगायतका देशमा काम गरिरहेका छन् । अब उनीहरु नेपाल आएपछि उनीहरुका सीप र क्षमतालाई बढाएर यहीँ लगाउनु पर्छ र कृषिको उत्पादन बढाउनुपर्छ ।’

रोजगार परिषद्का सभापति चन्द्रप्रसाद ढकालले बाहिर काम गरेकाहरु फर्कँदा समस्या पर्ने निश्चित भएको बताए ।

‘साना तथा ठूला उद्योग धन्दाहरु बन्द भएको छ । अनि उद्योग प्रतिष्ठान र पर्यटन क्षेत्रजस्तो धेरै ठूलो रोजगारी सिर्जना गर्ने स्थानहरु बन्द भएको अवस्था र नेपालमा आउने लगानीहरु पनि अब बन्द हुने वा कमी आउने सम्भावना बढेको छ ’, उनले भने ।

कोभिड १९ को माहामारी र लकडाउनका कारण अहिले विदशेबाट आउने रेमिटेन्समा पनि कमी आएको ढकालको भनाइ छ ।

‘यस वर्ष रेमिटेन्समा करिब १५ प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । अहिले नै विदेशबाट रेमिटेन्स आउन नसक्दा रेमिटेन्समा आश्रित परिवारहरु समस्यामा परिसकेका छन्उ’, उनले भने, ‘नीहरुलाई के खाने र कसरी बाँच्ने भन्ने चिन्ता भइसकेको छ । यस्तो अवस्थामा मजदुर मात्रै होइनन्, रेमिटेन्सबाट चल्ने परिवार पनि समस्यामा परेका छन् ।’

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले यस्तो अवस्थामा सरकारले रोजगारीलाई प्राथमिकतामा दिने गरी योजना बनाउनुपर्ने बताए ।

‘अहिले जुनसुकै सरकार भएपनि गर्ने भनेको जनतालाई बचाउने काम हो । त्यो भनेको नागरिकलाई बजाउनका लागि उनीहरुको जनजीविकालाई पनि बचाउनुपर्ने हुन्छ’, उनले भने ‘जनजीविकाको बचाउ भनेको रोजगारी र आफ्नो सीप, क्षमता आदिको प्रयोगलाई बचाउने भनेको हो । सरकार त्यसैका लागि काम गर्दैछ ।’

हाम्रो उत्पादन क्षेत्रको खम्बा भनेको श्रमिक रहेकोले उनीहरुलाई बलियो नबनाएसम्म अन्य क्षेत्रमा प्रगति हुन नसक्ने फुयाँलको भनाई छ । ‘त्यसैले उनीहरुको रोजीरोटीको लागि हामीले केही गर्नैपर्छ । वर्षमा ५ लाख मानिसहरु रोजागारीका लागि निस्कन्छन्, उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भनेर सोच्नुपर्छ’, उनले भने, ‘अहिले विदेशबाट वा कोरोनाले अस्तव्यस्त बनाएको देशबाट नेपाल आउन चाहनेको सङ्ख्या बढी छ र उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता सरकारलाई भएको छ । अब नयाँ रोजगारीका क्षेत्र सिर्जना गरी व्यवस्थापन गर्नुपर्नै दायित्व छ ।’

उनका अनुसार अहिले करिब ६५ लाख मानिसहरु विदेशमा रहेको र अलिकति खुकुलो हुने बित्तिकै उहाँहरु नेपाल आउने अवस्थामा रहेका छन् । ‘उहाँहरुलाई एकैपटक ल्याउनु पर्यो भने त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या पनि निम्तन सक्छ’, फुयाँलले भने, ‘त्यसको चुनौती सबैभन्दा ठूलो हो । सरकारले यसको व्यवस्थापनका लागि काम गरिरहेको छ ।’

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ