अन्तराष्ट्रिय समाचार स्वास्थ्य

आज विश्व रेड क्रस दिवस, ‘स्वयंसेवक र सहयाेगीकाे सम्मानमा ताली बजाउनुहोस्’

आज विश्व रेड क्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको एक सय ९२ औँ जन्म दिवसका अवसरमा विश्वभरि याे दिवस मनाइँदैछ ।

दिवसका अवसरमा नेपालमा पनि कोभिड १९ तथा लकडाउनकाे बेला सेवा प्रवाहमा खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरी ताली बजाउनुहोस् भन्ने नाराका साथ मनाइँदैछ । यस वर्ष भिड नगरि फरक तरिकाले दिवस मनाइने तयारी छ ।

स्वयंसेकहरुको सम्मानमा सामाजिक सञ्जालमा तालीको सङ्केत दिने, अनुभवका कथा र सन्देश प्रकाशन र प्रसारण गर्ने तथा बिरामीलाई फलफुल वितरणजस्ता क्रियाकलाप गरिने रेड क्रसले जनाएको छ । नेपाल रेडक्रसले ताली बजाउनुहोस् विषयमा गरेको फोटो प्रतियोगितामा अहिलेसम्म दुई सयभन्दा बढी तस्वीरहरु प्राप्त भएकाे सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो ।

रेड क्रसको सङ्गठन अहिले एक सय ९२ देशमा छ । अहिले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्यमा साझा अवधारणा बनाइ अभियान सञ्चालन भएका छन् । विश्वभर रेडक्र सका एक करोड ३७ लाख स्वयंसेवकहरुले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्यलगायतका काम गर्दै आएको रेड क्रसले जनाएको छ ।

नेपाल रेड क्रस सोसाइटीका अध्यक्ष संजीव थापा, नेपालमा रहेकाे रेड क्रसको अन्तर्राष्ट्रिय महासङ्घको कार्यालय प्रमुख हर्भे गाजेउ र रेड क्रसको अन्तर्राष्ट्रिय समितिको नेपाल मिसन प्रमुख जेरोम इम्स्टेम्फले ऐक्यबद्धतामा भिडियो सन्देशमार्फत् स्वयंसेवक, रक्तदाता, सहयोगी सबैलाई ताली बजाएर आभार व्यक्त गर्नुभएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ