प्रयटन राष्ट्रिय समाचार

आएनन् शिकारी, सुनसान छ ढोरपाटन

नेपालमा भन्दा विदेशमा बढी चर्चा हुनेमध्येको एक पर्यटकीय गन्तव्य हो ढोरपाटन । यसै क्षेत्रमा छ ‘ढोरपाटन शिकार आरक्ष’ पनि । अनुमति लिएरै शिकार खेल्न पाइने नेपालको एकमात्र शिकार आरक्ष हो यो । यस आरक्षमा पहिलोपटक शिकार खेल्न शिकारी नआएको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङ बताउँछ । कोरोना भाइरसको सङ्क्रमणले फैलिएको महामारीका कारण जारी बन्दाबन्दी (लकडाउन) ले गर्दा यस वर्षको दोस्रो शिकार याममा यहाँ शिकारी आएका छैनन् ।

यहाँ यस यामका लागि १० नाउर र पाँच झारलको शिकार अनुमति लिइएको थियो । चैत वैशाख महिना यहाँको दोस्रो शिकार याम हो । तर बन्दाबन्दीले गर्दा शिकारी नआएपछि अब के गर्ने भन्ने अन्योल पनि छाएको छ । लकडाउनको घोषणासँगै देशका समग्र पर्यटकीय क्षेत्रजस्तै ढोरपाटन क्षेत्र र यहाँको शिकार आरक्ष पनि सुनसान छ ।

शिकार खेल्न विदेशी शिकारी नआउँदा ढोरपाटन शिकार आरक्ष सुनसानमात्र होइन कार्यालयसमेत कामविहीन भएको छ । शिकारी आउँदा शिकारीसँगै कर्मचारी खट्नुपर्ने हुन्थ्यो तर अहिले भने कर्मचारी फुर्सदिला भएका छन् । यही समयमा कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत ठप्प हुँदा शिकारको अनुमति लिएका ६ वटा शिकार कम्पनी पनि शिकार खेल्न आउन सकेनन् ।

यो याममा शिकार एजेन्सीले १० नाउर र पाँच झारलको शिकार गर्नका लागि ठेक्कामार्फत अनुमति पाएका थिए । कुल राजश्वको तीन प्रतिशत धरौटी रकम बुझाएरसमेत शिकार खेल्न नपाएको ढोरपाटन शिकार आरक्ष कार्यालयका सूचना अधिकारी रमेश यादवले जानकारी दिए ।

कोरोनाका कारण दोस्रो याममा कुनै पनि नाउर र झारलको शिकार नहुँदा राज्यलाई आउने करोडौँ रुपैयाँ राजश्व गुमेको छ भने पर्यटनसम्बन्धी व्यवसाय र रोजगारी पनि गुमेको छ । आरक्षले एक आर्थिक वर्षमा दुई याम असोज र कात्तिक तथा चैत र वैशाख महिनामा मात्र शिकार अनुमति दिँदै आएको छ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षलाई विश्वका साहसिक शिकारीहरुले आफ्नो प्रमुख गन्तव्यका रुपमा मान्दै आएका छन् । शिकार आरक्ष कार्यालय भएको ढोरपाटन उपत्यकामा घुम्नका लागि आउने आन्तरिक पर्यटकसमेत प्रभावित भएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको बोलपत्र प्रक्रियाबाट ६ शिकार कम्पनीले शिकारी पठाउने जिम्मा पाएको भए पनि कोरोनाका कारण शिकारी नआएपछि रोकिएकोे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार शिकार अनुमति पाएका ६ कम्पनीलाई आर्थिक वर्ष २०७७/०७८ को पहिलो याममा नै शिकार खेल्न दिने वा धरौटी फिर्ता गर्ने भन्ने विषयमा अन्योल कायमै रहेको छ ।

यसअघिसम्म एक नाउर र झारललाई बढीमा रु १२ लाख राजश्व बुझाएका कम्पनीले यस याममा एक नाउर र झारलको बढीमा करिब रु एक लाख ७५ हजारमा मात्र बोलपत्र स्वीकृत पाउँदा राज्यलाई आउने राजश्व गुमेको हो । विश्वभरका साहसिक शिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा शिकार गर्न अमेरिका, रसिया, स्पेनलगायत मुलुकका शिकारी आउने कारणले ढोरपाटन शिकार आरक्षको नेपालभन्दा विदेशमा बढी चर्चा हुने गर्छ । पर्यटन मन्त्रालयले तोकेको १०० पर्यटकीय गन्तव्यमा समेत ढोरपाटन क्षेत्र परेको छ ।

बागलुङ जिल्ला सदरमुकामबाट झण्डै १३२ किलोमिटर दूरीमा रहेको ढोरपाटन क्षेत्रलार्ई सडक मार्गले छोएपछि पर्यटक बढ्न थालेका थिए । ढोरपाटन क्षेत्रमा आठ किलोमिटर फैलिएको ढोरपाटन उपत्यका, ढोरबहार मन्दिर तथा १०८ धाराले समेत पर्यटक तान्दै आएको छ । शिकारीहरु हेलिकप्टर चार्टर गरेर ढोरपाटन आउने गरे पनि घुम्न आउने पर्यटक सडक यातायातका साधनमार्फत पुग्न थालेका छन् । तर बुर्तिवाङदेखि ढोरपाटन पुग्ने सडकको भने स्तरोन्नति हुन नसक्दा ठूला सवारी साधन जान सक्दैनन् ।

ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको शिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि शिकारी आउने गरेको शिकार आरक्ष कार्यालयको भनाइ छ । सरकारले विसं २०४२ मा शिकार आरक्ष स्थापना गरेपछि शिकारका लागि अनुमति प्रदान गर्दै आएको छ । शिकारमा विदेशी पर्यटकको आकर्षण बढ्दै जान थालेको भए पनि कोरोनाका कारण यो वर्षको शिकार प्रभावित भएको हो ।

विश्वमा वैधानिकरूपमा शिकार गर्न पाइने सयौँ शिकार आरक्ष भए पनि विश्वमा प्रख्यात शिकारीले नेपालको ढोरपाटन शिकार आरक्ष मुख्य गन्तव्यका रुपमा लिने गरेका छन् । पन्ध्र दिनको शिकार अनुमतिसहित शिकार गर्न आउने शिकारी पर्यटकले आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा भाले नाउर वा झारलको मात्र शिकार गर्न पाउने व्यवस्था गरिएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपालमा चैत ११ गतेदेखि लकडाउन जारी छ । लकडाउनका कारण सबैभन्दा ठूलो असर नेपालको पर्यटन व्यवसायमा पर्दै आएको छ । लकडाउनका कारण नेपाल भ्रमण वर्ष–२०२० समेत स्थगन गरिएको छ ।

पर्यटनको क्षेत्रमा भर्खरै बामे सर्न थालेको बागलुङको पर्यटन व्यवसाय लकडाउनका कारण थला पर्न थालेको पर्यटन व्यवसायी बताउँछन् । पछिल्लो समय बागलुङमा विदेशी पर्यटकको समेत आकर्षण बढ्न थालेको थियो भने मुस्ताङ भ्रमणका लागि जाने आन्तरिक तथा भारतीय पर्यटक बागलुङ जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकनका लागिसमेत आउन थालेका थिए । कोरोना भाइरसका कारण बागलुङका सबै गतिविधि ठप्प छन् । जिल्लामा पर्यटकीय याम शुरु भएपछि लकडाउन पनि शुरु भएको थियो ।

पर्यटनसँग आबद्ध व्यवसायीले आफूहरु उठ्नै नसक्ने गरी थला पर्न थालेको गुनासो गर्दै आएका छन् । बागलुङलाई साहसिक तथा धार्मिक पर्यटकको गन्तव्यका रुपमा विकास गरिएको छ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष, सवा लाख शालिग्राम सङ्ग्रह गरिएको कुँडुले मन्दिर, पञ्चकोट र टेउवामा रहेको खुला मूर्तिकला सङ्ग्रहालयले पछिल्लो समय पर्यटक तान्न थालेका छन् ।

यससँगै बागलुङ कालिका मन्दिर, भैरवस्थान, घुम्टे धुरी र गाजा दहजस्ता पुराना पर्यटकीय स्थलले समेत पर्यटक भित्र्याउने विभिन्न आकर्षणका पूर्वाधार तथा विभिन्न प्रचारमूलक कार्यक्रम गर्दै आएका छन् । नयाँ वर्ष २०७७ सालमा नेपालकै लामो बागलुङ र पर्वत जोड्ने गरी ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न हुँदा बागलुङका पर्यटन व्यवसायी निकै खुशी तथा आशावादीसमेत भएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए ।

‘पर्यटन व्यवसायका लागि दुर्भाग्यका रुपमा नयाँ रोग भित्रिएको छ, यसबाट छुटकारा पाउनासाथ नयाँ ढङ्गले अगाडि बढ्नुको विकल्प छैन’, खड्काले भने, ‘पर्यटनसँग सम्बन्धितहरुले यस्ता रोग भविष्यमा समेत आउनसक्ने भन्दै आकस्मिक कोष स्थापना गरेर पर्यटन व्यवसायलाई अगाडि बढाउनुपर्ने हुन्छ ।’ अन्य जिल्लाको तुलनामा प्रचुर सम्भावना भएर पनि पर्यटनका क्षेत्रमा भने पछि पर्दै आएको बागलुङलाई विश्व भेगन अर्गनाइजेशनले समेत आफ्नो गन्तव्यका रुपमा सूचिकृत गरी तीन पटकसम्म युरोपेली पर्यटक भित्र्याइसकेको छ । विशेषगरी ट्रेकिङका लागि भेगनले बागलुङलाई रोज्न थालेको छ भने लकडाउन हुनुपूर्व साइकल पर्यटनको सम्भावना खोज्दै बागलुङदेखि ढोरपाटन पाँचदिने साइकल यात्रासमेत गरिएको थियो । भेगनमार्फत बागलुङमा विदेशी पर्यटक भित्र्याउन समन्वय गर्ने बागलुङ निवासी ट्रेकिङ व्यवसायी महादेव शर्माले जानकारी दिए ।

विदेशीको रोजाइमा बागलुङ पर्ने गरेको भन्दै शर्माले सबैले समन्वय गरेमा जिल्लामा पर्यटक भित्र्याउन गाह्रो छैन भन्छन् । उनका अनुसार लकडाउनका कारण थला परेको बागलुङको पर्यटन व्यवसाय उठाउनका लागि पर्यटन व्यवसायी नै लाग्नुपर्छ । लकडाउन सकिएर सहज हुँदा साथ बागलुङमा पुन भेगन समूहका विदेशी पर्यटक घुमाउन बागलुङ ल्याउने योजनामा रहेको शर्माको भनाइ रहेको छ । ‘बागलुङ विदेशीका लागि एक नयाँ तथा आकर्षक गन्तव्य भए पनि प्रचार प्रसारको अभावमा ओझेलमा थियो’, शर्माले भने, ‘भेगन समूहका पर्यटक बागलुङ आउँदा मोहित भएका कारण थप पर्यटक भित्र्याउने तयारीमा छौँ ।’

अहिले बागलुङका पर्यटकीय गन्तव्य तथा पर्यटन व्यवसाय नै सुनसान छ । घरबासका कारण फस्टाउँदै आएको बागलुङको ग्रामीण पर्यटनसमेत लकडाउनका कारण धरासायी बन्दै जान थालेको सामुदायिक घरबास बागलुङका अध्यक्ष खिमबहादुर थापाले बताए । बागलुङमा पर्यटनसँग सम्बन्धित होटल व्यवसाय थला पर्ने अवस्थामा पुगेका छन् ।

आफ्नै घरमा सञ्चालन हुँदै आएका होटल व्यवसायभन्दा भाडामा चल्दै आएका होटल व्यवसायीलाई झन बढी समस्या भएको होटल व्यवसायी कविता बस्नेतले बताए । ‘हामीले भाडामा होटल चलाउँदै आएका कारण कोरोनाका कारण अहिले भाडा तिर्न पनि नसक्ने अवस्थामा पुग्यौँ’, बस्नेतले भने । बागलुङका प्रायः ठूला होटल भाडाका घरमा सञ्चालन हुँदै आएका छन् । यसका कारण झनै समस्यामा परेको बागलुङ होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ