आर्थिक कृषि समाचार

असिनाले गहुँबालीमा क्षति, भोकमरीको चिन्ता

असिनापानीले बैतडीका विभिन्न स्थानमा लगाइएको गहुँबाली, तरकारीबाली, फलफूल र धानका बेर्नामा व्यापक रुपमा क्षति पुर्‍याएको छ। केही दिनदेखिको लगातार वर्षा र बुधवार साँझ परेको असिनापानीले गहुँबालीमा व्यापक क्षति पुर्याएको किसानहरुले बताएका छन्।

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिकालगायतका क्षेत्रमा गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा व्यापक क्षति पुर्याएको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका माया बोहराले बताईन्। असिनाले खेतमा पाकेको गहुँ पूर्ण रुपमा नष्ट गरेको छ।’

उनले भनिन् ‘खेतमा पाकेको गहुँ नष्ट हुँदा भोकमरीको सम्भावना बढेको छ।’ पाटन क्षेत्रमा किसानहरुले खेतमा राखेको धानको बेर्ना समेत नष्ट गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका पनि विभिन्न स्थानमा असिनाले बालीनाली व्यापक क्षति पुर्याएको किसानहरुले बताएका छन्।

असिना परेको ठाउँमा ७५ प्रतिशत गहुँबाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। असिनाले गहुँबाली नष्ट भएका कारण यो बर्ष गहुँको उत्पादन भारी गिरावट आउने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दको भनाई छ ।

मुख्य खाद्यबालीको रुपमा रहेको गहुँबालीमा क्षति पुर्याएकाले भोकमरी हुने भन्दै किसानहरु चिन्तित बनेका छन् । गत बर्ष २४ हजार ५ सय मेट्रिक टन गहुँ उत्पादन भएकोमा यो बर्ष गहुँ उत्पादन घट्ने देखिएको छ । बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँ खेती गरिँदै आएको छ ।

अन्नबाली भित्र्याउनै समस्या लगातारको वर्षाले बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा अन्नबाली भित्र्याउन समस्या भएको छ। किसानले लगाएको गहुँ लगायतको अन्नबाली पाकीसकेको भएपनि वर्षाका कारण भित्र्याउन समस्या भएको हो।

केहि दिन देखि पाकेको गहुँ बाली काट्ने चटारो परेको भएपनि पानी पर्न थालेपछि अन्न बाली भित्राउन समस्या भएको दोगडाकेदार ६ का स्थानीय गजबहादुर गोयलाले बताए । केही दिनअगाडी परेको असिनापानीले गहुँबालीमा क्षती पुर्याएको भएपनी बाँकी रहेको गहुँसमेत भित्र्याउन नपाएको किसानहरुले बताएका छन्।

गएको २ हप्तादेखि लगातार रुपमा पानी परिरहेकोले काटिसकेको गहुँसमेत थ्रेसिंग गर्न नपाएको दोगडाकेदार १ रिमका नरेन्द्र विष्टले बताए। उनले भने ‘काटिसकेको गहुँ समेत कुहिने अवस्थामा रहेको छ।’

बैतडी, दार्चुला, बझाङ लगायतका पहाडी जिल्लाका किसानहरुलाइ खेतिपाती भित्राउन धौधौ परेको भएपनि वर्षा बाधक बनेको हो।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ